१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो : देवेन्द्र पौडेल


२९ फाल्गुन २०७५, बुधबार ०८:१९

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने,‘राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् । हाम्रा मागहरु पूरा भएका छैनन् ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले यस्तो बताएका हुन् । उनले भने,‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने नै छ । अहिले रेशम चौधरीको कुरा पनि त्यही मधेश र थरुहट आन्दोलनसँग जोडिएको टिकापुर घट्नामा आधारित भएर भएको हो । त्यसरी टिकापुर घट्नामा आधारित भएर भएको रेशम चौधरीलाई आजिवन कारावास सजाय, रेशम चौधरी कुनै अपराधिक गतिविधिमा संलग्न व्यक्ति थिएनन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले टिकापुर घट्नामा चौधरी संलग्न पनि नभएको जिकिर गरे । झाले थपे,‘जुन दिन त्यो घट्ना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन् । अर्को दिन, थारुहरुको जुन प्रकारको स्मिता, सम्पत्ति, ईज्जत सबै लुटियो । त्यो घट्नाको बास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छजस्तो मलाई लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर ।’

उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ । उनले भने,‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो –गर्यो । मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाइ पनि पक्कै पनि हेर्नेछ । र, मुद्दाको सबै अंग, सबै घट्नाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन् ।’
आफ्नो पार्टीले पनि गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन (जुन मधेश र थरुहटसँग सम्बन्धित थियो) त्यो सार्वजनिक गर्न माग गरिरहेको झाले जनाए ।
उनले थपे,‘हामी कुनै पूर्व सहमति नभएमा संसदमा फेरि पनि त्यसको विषयमा कडा आवाज उठाउने नै छौं । जहाँसम्म रेशम चौधरीलाई भैसकेको सजाय छ, कुनैपनि तहको अदालतले हामी विधिको शासन मान्नेहरुको बारेमा गर्ने फैसला र निर्णयलाई हामी स्विकार गर्दछौं ।’
झाले अघि थपे,‘तर, त्यो निर्णयबाट राजपा र रेशम चौधरीलगायतका जतिपनि अहिले फैसलाबाट जो–जो मर्माहत भएका छन् । ती सबै पीडितहरुको तर्फबाट उच्च अदालतमा चाँडै नै फेरि पनि सुनुवाईको लागि आग्रह गरिनेछ । मुद्दालाई त्यसभन्दा माथिको कोर्टमा लगिनेछ । र, हामीलाई विश्वास छ, पक्कै पनि यी अहिले दोषी कहलिएका रेशमजी लगायतका साथीहरु निर्दोष सावित हुनुहुन्छ ।’
सरकारले विप्लवमाथि हिजोबाट लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने,‘यो कुरा त के हो भने जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ । यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्दथ्यो । २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन् प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनैपनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ ।’
उनले विगतको घट्नाबाट पाठ सिकेर सरकारले विप्लवमाथि कारबाही वा प्रतिबन्ध लगाउनु भन्दापनि वार्ता तथा सम्वादद्धारा समस्याको अवतरण गराउने प्रयास गरिएको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखे । उनले भने,‘वार्ता तथा सम्वादमार्फत सेफल्याण्डिङ गरेको भए भए नै उचित हुन्थ्यो ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् ।
उनले भने,‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तरपनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन् ।’

उनले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए । उनले थपे,‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यतिवेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसलेमात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’
नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने,‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन् ।’

उनले परिस्थ्तििलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । पौडेलले थपे,‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आँफैमाथि बज्रपात गर्न सक्छ। त्यसकाण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनको निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।’
राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । पौडेलले भने,‘त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ । त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ ।’
उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नघटेको पनि जिकिर गरे । ‘केही प्रकारका छिटपुट घट्नाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’ उनले पटक–पटक अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएको सुनाए ।

नेता पौडेलले थपे,‘हामीहरु अहिलेपनि हिजोका घाउहरु सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन् ।’
अझैपनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । उनले भने,‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ । राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन् । वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ उनले भने,‘जेसुकै भएपनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ । आवश्यक पर्यो भने संविधान संशोधन गर्नपनि सकिन्छ ।’

त्यस्तै उनले वर्तमान सरकारले जनताको चाहनाअनुसार प्रभावकारी काम गर्न नसकेको गुनासो पोखे । उनले भने,‘सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यक छ । हामी यो विषयमा गम्भिर छौं । जनताको गुनासो आउनु स्वभाविक हो ।’

पौडेलले सकेसम्म अहिले भएकै मन्त्रीहरुबाट काम प्रभावकारी बनाउने प्रयास गरिने नभए मन्त्रिमण्डल पूर्नगठन गरेर भएपनि सरकारको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले भने,‘सरकारको काम प्रवभाकारी बनाउनुपर्ने कुरा हामीले आवश्यकत्ता महशुस गरेका छौं ।’ त्यस्तै उनले पार्टीको एकीकरणको बाँकी रहेका कामहरु छिटोभन्दा छिटो संस्थागत रुपमा टुँगो लगाउन पनि आफूहरुले सार्वजनिक रुपमै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरिरहेको सुनाए ।
उनले भने,‘एकताको बाँकी काम सम्पन्न गर्न हामीले कार्यदल बनायौं, तर दुवै अध्यक्षले रिस्क मोलेर निर्णय नगर्दा कार्यदल विघटन भयो ।’

फरक प्रसँगमा उनले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने स्पष्ट पारे । उनले थपे,‘सिके राउतको विगतको गतिविधिलाई समिक्षा गर्दै नेपालको पछिल्लो शान्ति प्रक्रियासँग मेल खाने नाममा प्रदत्त अधिकारहरु खुल्ला राजनीति र प्रष्पिर्धामा उहाँलाई सहज वातावरण बनाउनेसहित ११ बुँदे सहमतिको पटाक्षेप भएको छ ।’
यदि सरकारसँग भएको सहमतिअनूरुपनै गतिविधिहरु भए भने ठिकै हुने उनको टिप्पणी छ । पौडेलले थपे,‘यदि सहमतिविपरित गतिविधिहरु भए भने सहमतिबारे पूर्नविचार गर्न बाध्य हुनुपर्छ । यदि सहमितअनुरुपनै अघि बढियो भने यो एक प्रकारले राजनीतिसँग अन्तरनिहित छ । त्यसकारणले त्यो सही छ ।’

गतिविधि अब कसरी अघि बढ्छन् ? भन्ने कुरा हेर्न बाँकी रहेको उनको भनाई छ । उनले थपे,‘अबका दिनले त्यो देखाउँछ । वार्ता, सहमति र सम्वादमार्फत र संविधानअनुसार सहमितमा ल्याउनु आँफैमा सही कुरा हो । त्यसकारण सरकारको तर्फबाट गरिएको उक्त सहमतिलाई हतार भएपनि एउटा सकारात्मक संकेतको रुपमा लिन्छु । ’
सरकार र राउतबीचको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने यी दुवै प्रकरणमा सरकारले यति धेरै महत्व दिनुपर्ने स्थिति आफूले नदेखेको पनि पौडेलले सुनाए । उनले भने,‘यतिवेला सरकारले आफना कामहरु, विकास निर्माणका कामहरु, संविधान कार्यान्वयन गर्नुपर्ने कामहरु र शान्तिप्रक्रियासँग सम्बन्धित रहेका बाँकी कामहरु दृढतापूर्वक गर्नसक्ने बलियो हैसियतमा सरकार छ । त्यहाँ कहीँ कतैबाटपनि अवरोध हुने, अप्ठ्यारो हुने छेडकान हुने अवस्था छैन् । अलि–अलि प्रतिपक्षका साथीहरुले कतिपय बेला र अरु कतिपय बेलामा कुराहरु उठाउनुहुन्छ, न कतैबाट अविश्वासको प्रस्ताव दर्ता हुने र गिने अवस्था छ, न त कहीँ कतैबाट रोकावट छ ।’

उनले सरकार अन्य विषयमा अल्झिनुभन्दापनि निर्वाचनका बेला जनतासामू गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गराउनतर्फ लाग्नुपर्ने सुझाए । उनले भने,‘मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने यी अन्य विषयमा अल्झिनुभन्दा निर्वाचनको बेला गरेका प्रतिबद्धताहरु र जनअपेक्षित कामममा आफूलाई तिखारेर तिखो गरि सरकार अगाडि बढ्नु नै यतिवेलाको प्रमुख काम हो । तर, राज्यले भैपरिआएका कामहरु हल गर्दै जानु पनि स्वभाविक छ ।’