१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खाको समस्या कूटनैतिक रूपमैं हल हुन्छ : राजदूत सुवेदी

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७३, शनिबार ००:२९

बेलायतका निम्ति नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले लामो समयसम्म बल्झिएको गोर्खा समस्या कूटनैतिक रूपमा हल गर्न लागिपर्ने बताएका छन् ।

बेलायतस्थित नेपाली पत्रकारहरूसँग शुक्रबार साँझ दूतावासमैं आयोजित शुभकामना भेट तथा संक्षिप्त अन्तर्क्रियालाई सम्बोधन गर्दै सुवेदीले गोर्खा समस्या द्विदेशीय र राजनैतिक प्रकृतिको भएकाले यसको सही उपचार पनि कूटनैतिक रुपमैं निकाल्न सकिनेमा आफू विश्वस्त रहेको बताएका हुन् । अदालतसम्म पुगेर न्यायिक फैसलासमेत आइसकेको विषय भएकाले यो जटिल र गम्भीर बनेको स्मरण गर्दै उनले पत्रकारलगायतका सबै प्रबुद्ध वर्गमा संयमित भएर अभिव्यक्ति र कार्यक्रम गर्न आग्रह गरे । आवेग र संवेगभन्दा सरकारी स्तरमैं प्रभावकारी छलफल र संवादबाट यसको परिणाममुखी निकास निस्कने उनको बुझाइ थियो ।

प्राज्ञिक छवि भएका र कूटनैतिक क्षेत्रमै तीन दशक लामो अनुभव बोकेका सुवेदीले दूतावासबारे सेवाग्राहीबाट सुनिने गरेका गुनासाहरूको सम्बोधन भइसकेको र छिटोछरितो एवं निष्पक्ष सेवाप्रवाहको व्यवस्था सुरु गरिएको जानकारी दिए । दूतावासले सबै तह र तप्काका नेपालीहरूलाई समान र सम्मानजनक व्यवहार गर्ने उनले स्पष्ट पारे ।

नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध अझ सुमधुर, फलदायी र प्रगाढ़ बनाउनु नै आफ्नो मूल दायित्व भएको स्मरण गर्दै उनले बेलायतस्थित नेपाली डायस्पोरासँग पनि निकटतम सम्बन्ध स्थापित गरेर अघि बढ़ने दृढ़तासमेत व्यक्त गरे ।

आवश्यक परे शनिबार या आइतबार पनि कार्यालय खोलेर अत्यावश्यक सेवा प्रदान गर्न दूतावास तयार रहेको सुवेदीले बताए । अप्ठ्यारोमा परेका बेला नागरिकको सहयोग गर्नु दूतावासको कर्तव्य हो, उनले भने ।

दूतावासका प्रवक्ता शरद राज आरनले संचालन गरेको अन्तरक्रियामा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, भगीरथ योगी, चिरन शर्मा र नरेश खपाङ्गीलगायतले बेलायतमा नेपाली पत्रकारका अनुभव, सम्भावना र चुनौतीबारे राजदूतलाई अवगत गराएका थिए । आगामी दिनमा पत्रकारहरूसँगको सहकार्यलाई अझ सघन बनाएर नेपाल र नेपालीको पक्षमा दूतावासले सक्रिय भूमिका खेल्ने आशा राजदूत सुवेदीले व्यक्त गरे ।