८ बैशाख २०८१, शनिबार
Follow Us

दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा चिन्तित

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७३, शनिबार ०७:०३

नेपालीको महान् पर्व दसैँअगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा पर्वतका वृद्धवृद्धा, एकल महिलाको दसैँ खल्लो हुने भएको छ ।

अधिकांश बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नगर्दा चाडबाड मनाउनबाट वृद्धवृद्धा विमुख बनेका हुन् ।

चाडबाडका बेला राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न नपाउँदा दसैँ खल्लो लागेको वृद्धवृद्धाले गुनासो गरेका छन् । जिविसले असोजको पहिलो साता नै बैंकलाई भत्ता वितरणका लागि निकासा दिएको भए पनि अधिकांश बैंकबाट वितरण हुन सकेको छैन ।

व्यक्तिगत खातामा रकम स्थानान्तरण गर्न केही समय लागेको र कतिपय गाविस र नगरपालिका कार्यालयका सचिवले मरेका र बसाइँ सरेकाहरुको लगतकट्टा नगरिदिएको बैंकले जनाएका छन् ।

“लगतकट्टा गरेका गाविसको रकम वृद्धवृद्धाको खातामा पठाएका छौँ” गरिमा विकास बैंक कुश्मा शाखाका प्रबन्धक सुन्दर भण्डारीले भन्नुभयो – “लगतकट्टा भएर आएमा दसैँलगत्तै सबै क्षेत्रका वृद्धवृद्धाले भत्ताको रकम निकाल्न सक्ने गरी व्यवस्था गर्छौं ।” पर्वत जिल्लामा दुई वर्ष पहिलेदेखि पाँचवटा गाविसबाहेक सबै गाविसका बासिन्दा र यो वर्षदेखि कुश्मा नगरपालिकाका सबै वडाका वृद्ध, एकल महिलालगायतलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

उत्तरी क्षेत्रमा बेनीस्थित राष्ट्रिय वाणिज्य बैंकले रकम वितरणको जिम्मा लिएको छ । कुश्मा नगरपालिका क्षेत्रमा विभिन्न बैंकलाई जिम्मा दिइएको छ । पातीचौर क्षेत्रमा सेवा विकास बैंकले जिम्मा लिएको छ ।

कार्कीनेटा क्षेत्रमा मुक्तिनाथ बैंकले पनि वितरणको तयारी गरेको जिविस पर्वतका सामाजिक सुरक्षा शाखा प्रमुख चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “सबै बैंकमा समयमा नै निकासा पठाएका छौँ” जिविसले असोज ४ गते केन्द्रबाट निकासा भएपछि ६ र ७ गते नै बैंकमा रकम पठाइएको थियो । बैंकले समयमा नै काम सकेको भए दसैँं अगाडि नै सबैले सामाजिक सुरक्षाभत्ता पाउने अवस्था थियो ।

जिविस पर्वतले दिएको जानकारीअनुसार पर्वतमा यस चौमासिकमा रु १५ करोड सामाजिक सुरक्षाभत्ता निकासा गरिएको छ । जिल्लामा २० हजार जति सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रहेका छन् । रासस