१५ बैशाख २०८१, शनिबार
Follow Us

लण्डन दूतावासमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो (फोटो फिचर)


३० फाल्गुन २०७५, बिहीबार १३:१०

लण्डन । नेपाली दूतावास लण्डनले अन्तर्राष्ट्रिय नारी दिवस विषेश कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

वेलायतमा विभिन्न पेशा र समुदायमा रहेका नेपाली महिलाहरुको उपस्थितीमा गत शनिवार दूतावास भवनमा एक विशेष समारोहको आयोजना गरिएको हो ।

वेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम सुवेदीको सभापतित्वमा आयोजित सो विशेष समारोहमा नेपाली साङ्गीतिक आकाशकी एक धरोहर, वरिष्ठ गायिका तथा संगीतकार श्रीमती मीरा राणा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता राधा पौडेल, वेलायतको जोनमोर विश्वविद्यालय की प्राध्यापक डा. सारा पर्कर विशिष्ट अतिथिका रुपमा उपस्थित थिइन्।

कार्यक्रमलाई सम्वोधन गर्दै श्रीमती सुवेदीले नेपालको संविधानले नेपाली महिलाहरुलाई समान हक, अधिकार र सुविधा प्रदान गरेको वताइन् ।

उनले संविधानले प्रत्याभूत गरेको हक र अधिकारवाट आज हजारौ नेपाली नारीहरु नेपालको संघ, प्रदेश र स्थानीय तहका राजनैतिक पदहरुमा निर्वाचित भएर देश र जनताको सेवा गरिरहेको वताइन् ।

उनले नेपालको राष्ट्रपतिको सर्वोच्च पद तथा प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदमा महिला आसिन हुनु समस्त नारीहरुका लागि गौरवको विषय भएको वताइन् ।

विशेष समारोहमानेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूवाट व्यक्त शुभकामना सन्देशहरु पढेर सुनाएका थिए।

महामहिम राजदूत डा. सुवेदीले आमा शिक्षित भए परिवार शिक्षित हुन्छ र परिवार शिक्षित भए समाज शिक्षित हुन्छन भन्दै राष्ट्रको समग्र विकासमा महिलाको महत्वपूर्ण भुमिका हुने विचार व्यक्त गरे ।

उनले स्वदेशमा मात्र हैन, विदेशमा पनि नेपाली नारीहरुले आफ्नो देशको धर्म, संस्कृति, पर्व, परम्परा, रीतिरिवाज, भाषा, साहित्य, कला र संगीतलाई सधैं जोगाउँदै सधैं नेपालीमन र नेपालीपन बोकेर नेपाली भएर बाच्नु पर्छ भन्ने विचार व्यक्त गरे ।

समारोहका प्रमुख अतिथि वरिष्ठ गायिका श्रीमती मीरा राणाले नारी र पुरुष एक अर्काका अभिन्न अङ्ग हुन् भन्दै समाज र राष्ट्र निर्माणमा महिला र पुरुष सँगसँगै हातेमालो गरेर अघि बढ्नु पर्ने वताइन् ।

समारोहका विशिष्ट अतिथि राधा पौडेलले नेपालका गरीब र विपन्न वर्गका महिलाहरुमाथि महिनावारीका समयमा हुने सामाजिक दुर्व्यवहार र अन्धविश्वासवाट मुक्त हुन सवैले खुलेर बहस गर्नुपर्ने समय आएको बताइन् । उनले महिनावारी समस्या र त्यसको समाधानका सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिएन्।

त्यसैगरी विगत तीस वर्षदेखि नेपालको अध्ययन र अनुसन्धान गर्दै आउनु भएकी प्राध्यापक डा. सारा पर्करले नेपालको सिक्लेसमा आफू र आफ्नो सामाजिक संस्थाद्धारा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी चेतानामूलक कार्यक्रमहरुका माध्यमवाट नेपाली महिला तथा वालवालिकाहरुप्रति पुर्याएको योगदानबारे एक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

समारोहमा बेलायतको नेपाली समाजकी एक सशक्त महिला समाजसेवी तथा गैर आवासीय अन्तर्राष्ट्रिय नेपाली संघकी केन्द्रीय सदस्य श्रीमती शान्ति थापा कुँवरलाई विशेष सम्मान गरिएको नेपाली दूतावास लण्डनले जनाएको छ ।

करिब दुईसय महिलाहरुको उपस्थिति रहेको नारी दिवस सम्बन्धी समारोहमा लण्डन लगायत बेलायतका विभिन्न शहरहरुवाट समेत नेपाली महिलाहरुको उल्लेख्य सहभागिता थियो। समारोहको अन्तमा बेलायतको सयपत्री नेपाली सांस्कृतिक समूहले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।