१३ बैशाख २०८१, बिहीबार
Follow Us

मृतक मगरको शव नेपाल लैजान एनआरएन यूकेको सहयोग


३० फाल्गुन २०७५, बिहीबार १३:२९

लण्डन । लण्डनमा निधन भएका एक नेपाली युवाको शव नेपाल पठाउन एनआरएन यूकेले आर्थिक सहयोग गरेको छ । लण्डनको ह्यारोमा बस्दै आएका स्वर्गीय लेखबहादुर राना मगरको शव नेपाल लैजाने कार्यको लागि एनआरएन यूकेले १ हजार १ सय ७९ पाउण्डको आर्थिक सहयोग गरेको हो ।

एनआरएन यूकेको च्यारिटी विभागका संयोजक समेत रहेका उपाध्यक्ष प्रेम गाहा मगरको संयोजनमा उक्त रकम संकलन गरिएको थियो । उपाध्यक्ष गाहा मगर, महासचिव आरके त्रिपाठी, सल्लाहकार देव गुरुंग, पत्रकार शिव भण्डारी लगायतले बुधबार लण्डन ह्यारोस्थित उनको घरमै पुगेर मृतक मगरकै बाबुआमालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

नेपाल स्थायी घर पर्वत हटिया रहेका जय बहादुर राना मगर र लोककुमारी राना मगरका २९ वर्षीय छोरा लेखबहादुर राना मगरको गत २२ फेब्रुअरीमा निधन भएको थियो । लण्डनको ह्यारोमा बस्दै आएका राना सुतिरहेको बेला अकस्मात निधन भएको थियो ।

३ महिनाअघि मात्रै आफ्नै बुवाको आश्रित भिसामा सुनौलो सपना बोकेर बेलायत छिरेका उनी यहां आफ्नै बाबुआमासंगै बस्दै आएका थिए । मगरको पार्थिक शरीरलाई नेपाल नै लैजाने परिवारले निर्णय गरेपछि आर्थिक सहयोग आवश्यक परेको थियो । जसको लागि साउथ ईस्ट रिजनल तमु धिं लण्डनसहित बेलायतस्थित अन्य नेपाली संघसंस्थाले पनि सहयोग गरिसकेका छन् ।