७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरला नाकाको चीनतर्फ पूर्वाधार निर्माण तीब्र

sarusaru
१ चैत्र २०७५, शुक्रबार ०२:३७

बागलुङ – अन्तराष्ट्रिय व्यापार नाकाका लागि नेपाल र चीनबीचको प्रमुख नाकामध्येको एक उपल्लो मुस्ताङको कोरलामा चीनले पूर्वाधार निर्माणका सम्पूर्ण कामहरु सकिँदा पनि नेपालतर्फको तयारी भने शून्य देखिएको छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा गत भदौमै सहमति बनिसकेको थियो । सहमतिलगत्तै चीनले आफ्नो सीमा क्षेत्रमा व्यापार तथा पारवहनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ । तर, कोरला नाकामा नेपाली पक्षको तयारी शून्य बराबर छ । चीनले आफ्नो सीमासम्म १२ चक्के ट्रक आउन सक्ने कालोपत्रे सडक निर्माण गर्नुका साथै भन्सारका लागि सुविधासम्पन्न भवन निर्माण पनि गरिसकेको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले जानकारी दिए । विष्टले दिएको जानकारी अनुसार, चीनतर्फ १० किलोमिटर (किमी) टाढासम्म कालापत्रे सडक निर्माण भइसकेको छ । नेपालतर्फ भने कोरला नाकादेखि करीब १९० किमी तल म्याग्दीको बेनीसम्म मात्र कालोपत्रे सडक तयार भएको छ । चीनतर्फ अन्तरराष्ट्रिय व्यापारका लागि भौतिक पूर्वाधार तयार भइसकेका छन् । नेपालतिर भने सुरक्षाकर्मी बस्न कर्कटपाताले बारेर बनाएको एउटा छाप्रो रहेको छ ।

कोरला नाकाको इतिहास
सन् १९६० भन्दा पहिला कोरला नाका नेपाल र तिब्बतका लागि एउटा महत्वपूर्ण व्यापार नाका थियो । यो नाका विशेष गरी प्राचीन साल्ट रूट (ढिके नूनको कारोबार हुने मार्ग) को केन्द्रका रूपमा चर्चित थियो । सन् १९४९ सम्म तिब्बत स्वतन्त्र थियो । तर, सन् १९५० मा तिब्बतमा चीनको शासन शुरू भयो । चीनको विरोधमा सन् १९६० मा तिब्बतको खामका बासिन्दा (खम्पा) हरूले नेपालको भूमि (मनाङ र मुस्ताङ) प्रयोग गरी विद्रोह थालेपछि सन् १९६० देखि बन्द रहेको यो नाका ५८ वर्ष बितिसक्दा पनि खुलेको छैन ।

भन्सारका लागि जग्गै छैन
नेपाल र चीन सरकारले कोरला सीमामा भन्सार खोल्ने औपचारिक घोषणा गरिसकेपछि चीन सरकारले आफ्नो तर्फको काम अगाडि बढाइसकेको थियो । तर, नेपालतर्फको संरचना विकासको त कुरै छोडौं भन्सारका लागि अझसम्म पनि जमिनको व्यवस्थापन हुन सकेको छैन । अध्यक्ष विष्टका अनुसार, नेपाली पक्षले हालसम्म भन्सार कार्यालय निर्माणका लागि जग्गाको समेत टुंगो लगाउन सकेको छैन । कोरला क्षेत्रमा व्यक्तिगत जग्गा नहुँदा पनि समस्या भएको उपल्लो मुस्ताङबासीको भनाई छ । भन्सार कार्यालयका लागि सरकारले नै जग्गा व्यवस्था गर्नुपर्ने छ । यसको जिम्मेवारी भन्सार विभागलाई दिइएको छ । भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार, जग्गा प्राप्तिका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा विभागले पत्र पठाएको छ । भन्सार कार्यालयका लागि विभागले मन्त्रालयसँग १ हजार रोपनी जग्गा मागेको छ । ‘जग्गा प्राप्तिको प्रक्रिया टुंगिएपछि संरचना निर्माणको काम अघि बढ्नेछ,’ घिमिरे भने ।

बैशाखअघि छैन संभावना
अहिले उपल्लो मुस्ताङमा हिउँ जमेको छ । माघ र फागुनमा भएको बाख्लो हिमपातका कारण उपल्लो मुस्ताङ हिउँले ढाकिएको छ । हिउँ पग्लिन अझै दुई हप्ताभन्दा बढी लाग्न सक्ने भएकोले हिउँ नपग्लिई त्यहाँ जान सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । भन्सार विभागका निर्देशक घिमिरेले अहिले त्यहाँ जान सक्ने अवस्था नरहेको बताए । ‘बैशाख लागेपछि अवस्थाको निरीक्षण गर्न जान्छौं र त्यसपछि संरचना निर्माणको काम थाल्छौं,’ उनले भने । उपल्लो मुस्ताङको लोमान्थाङदेखि कोरला जोड्ने सडक निर्माणको काम नसकिएकोले पनि जिम्मेवारी पाएको विभागलाई काम गर्न समस्या भएको छ । कालीगण्डकी करिडोरअन्र्तगत सामान्य ट्याक कोरलासम्म नै पुगेको भएपनि लोमान्थाङभन्दा माथिको सडक खण्ड तयार भइनसकेको घिमिरेले बताए ।
ढोरपाटन दैनिक