१५ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खाको नयाँ बटालियन घोषणा, नेपालसँग छलफल गरिएन

sarusaru
१ चैत्र २०७५, शुक्रबार ०६:१३

ब्रिटिश सेनामा गोर्खा राइफल्सको तेस्रो बटालियन स्थापना भएर सन् २०१९ बाट भर्ती थालिने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

पछिल्ला वर्षमा ब्रिटेनको सेनाको घटिरहेको सङ्ख्याको मारमा नेपाली गोर्खाहरू समेत परेका थिए।

नयाँ निर्णयसँगै उनीहरूको सङ्ख्या ७३० ले बढेर झन्डै चार हजार पुग्ने ठानिएको ब्रिटिश फोर्सेस बोर्डकास्टिङ सर्भिसले जनाएको छ।

नेपालसँग छलफल भएको थियो?
फागुनको दोस्रो साता नेपाल भ्रमणमा रहेका ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले बटालियन बढाउनेबारे नेपाल सरकारसँग कुनै छलफल नगरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बीबीसी नेपाली सेवालाई बताए।

उनले भने, “गोर्खा सैनिकको सङ्ख्या थप गर्ने विषयमा समग्र पुनरवलोकन नभएसम्म नेपालको सहमति छैन भनिसकेका छौँ।”

मन्त्री ज्ञवाली भर्तीको सङ्ख्या थपघट हुने विषयमा नेपाल सरकारसँग छलफल हुनुपर्ने बताउँछन्।

ब्रिटेनको आश्वासन: ‘गोर्खाको समस्या चाँडै समाधान हुन्छ’
नेपालले ब्रिटेनलाई दबाब दिन आवश्यक: गेसो
भूपू गोर्खाका गुनासो बुझ्न प्राविधिक समिति
नेपाल, भारत र बेलायत सरकारबीच सन् १९४७ मा भएको गोर्खा फौजबारेको त्रिपक्षीय सम्झौतालाई उल्लेख गर्दै उनीहरूको सेवा सुविधा र सङ्ख्याको बारेमा समय-समयमा बहस हुने गरेको छ।

तस्वीर कपीराइटPMO NEPAL
सन् २०१९ का लागि नेपालका विभिन्न ठाउँबाट हुने प्रारम्भिक छनोटमा १० हजारबाट छानिएका ५८० पोखरा आइपुगेका थिए।

भर्तीको सङ्ख्या सन् २०१९ मा ४३२ थियो जुन पछिल्लो साढे तीन दशकको सबैभन्दा उच्च हो।

परिवर्तित परिवेश

ब्रिटेनले तीन वर्षअघि गरेको आफ्नो प्रतिरक्षा समीक्षामा पाँचवटा विशेषज्ञ पैदल फौज तयार पार्ने बताएको थियो।

जसअन्तर्गत नै अहिले तेस्रो बटालियन स्थापना गरेर गोर्खा सैनिकहरुको सङ्ख्या बढाउन लागिएको ब्रिटेनको रक्षा मन्त्रालयले जनाएको छ।

यी फौजहरू खासगरी क्षमता विकास र तालिम विज्ञका रूपमा रहनेछन्।

नेपालको संसद्ले छेक्न सक्ला महिलाको गोर्खा भर्ती?
भूपू गोर्खा: प्रतिवेदन नेपाल र ब्रिटेनलाई
नयाँ बटालियनमा गोर्खालाई रोज्नुको कारण बताउँदै ब्रिटिश रक्षा राज्यमन्त्री लाङ्कास्टरले भनेका छन्, “दुई शताब्दीभन्दा बढी समयदेखि गोर्खाहरूले आफ्नो क्षमता र साहसका कारण निकै उच्चस्तरको सेवा र बलिदान दिएका छन्। उनीहरूले यूके र ब्रिटिश सेनासम्म ल्याएको त्यही मौलिक विज्ञता र दृष्टिकोणकै कारण तेस्रो बटालियनमा निर्माणका लागि छानिएको हो।”

ब्रिटेनको विश्वव्यापी सुरक्षा प्रतिबद्धतासँग जुझ्नमा महत्तवपूर्ण मानिने तीव्र उद्धार, इन्जिनियरिङ र सञ्चारसम्बन्धी जिम्मेवारीहरू मुख्य मानिने मन्त्रालयले जनाएको छ।

दुई शताब्दीदेखि ब्रिटिश सेनामा रहेका गोर्खा सैनिकहरू आधारभूत तालिममा शतप्रतिशत उत्तीर्ण हुनेमध्ये पर्छन्।

‘सरकार स्पष्ट होस्’
हाल ब्रिटेनमा सेवानिवृत्त जीवन बिताइरहेका भूतपूर्व गोर्खा मेजर टिकेन्द्र दल देवान नयाँ घोषणालाई ‘उत्साहजनक’ बताउँछन्।

“गोर्खा सैनिकहरू पुराना पुस्तामा भएका विभेद र समस्याका बेग्लै कथा छन्। तर नयाँ पुस्ताका भएको समान अवसरबीच यस्तो घोषणाको स्वागत गर्नुपर्छ।”

उनीजस्ता भूतपूर्व गोर्खाहरूको एउटा माग भने ब्रिटेनलाई आवश्यक पर्दा ठूलो सङ्ख्यामा भर्ती गर्ने नचाहिँदा कटौती गर्ने अनिश्चितता हटाउनुपर्छ भन्ने हो।

तस्वीर कपीराइटGETTY IMAGES
देवान भन्छन्, “जसको लागि दुवै सरकारहरू मिलेर गोर्खाहरुको न्यूनतम सङ्ख्या घटबढ नहुने सहमति गर्नु आवश्यक छ।”

ब्रिटिश सेनामा पछिल्लो समय गोर्खाहरूलाई अन्य रेजिमेन्टतर्फ जाने अवसर समेत खुला छ।

नयाँ बटालियनले गोर्खाहरूलाई बढुवाजस्ता व्यावसायिक उन्नतिको अवसर उच्च हुने र उनीहरुले गोर्खा बिर्गेडमै पूरा २४ वर्ष सेवावधि पूरा गर्ने सम्भावना उच्च हुने ब्रिटिश रक्षा मन्त्रालयको भनाइ छ।

सन् २०२० सम्म गोर्खा ब्रिगेडमा नेपाली महिलाहरूलाई पनि भर्ती गर्ने योजना बनाइरहेका बेला नेपालको एउटा संसदीय समितिले उक्त कार्य ‘तुरुन्त बन्द गराउन’ नेपाल सरकारलाई निर्देशन दिएपछि ब्रिटिश सरकारको उक्त योजनाबारे अन्योल कायमै छ।