१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन डे लाप्राकमा, १२ महिनामा नमुना वस्ती बन्छ : अध्यक्ष घले

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७३, शनिबार ०८:१०

काठमाण्डौ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निमार्ण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुभएको छ ।
शुक्रबार बिहान लाप्राक पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले ६१२ घरसहितको नमुना वस्तीको शिलन्यास गर्नुभएको हो । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको गुरुयोजनाको संयुक्तरुपमा अनावरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘यो एकीकृत वस्ती मात्र हैन, नमुना वस्ती पनि हो, यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ, अरु सयौं नमुना वस्तीहरु वन्न सक्छन ।’
गैरआवासीय नेपालीहरुको राष्ट्रभक्ति देखेर आफु निकै प्रभावित भएको भन्दै उहाँले भन्नुभयो–‘ यो निकै चुनौतीपूर्ण काम हो, सजिलो छैन, तर, शेष घलेजीको परिचय त्यसै बनेको हैन, उहाँहरुले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई बिश्वास छ ।’
भूकम्पबाट घरबिहीन हुन पुगेका एक हजार परिवारलाई घर निर्माण गरिदिने गैरआवासीय नेपाली संघको घोषणा अन्र्तगत गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन लागिएको हो । यो वस्ती निर्माणका लागि सवै खर्च गैरआवासीय नेपाली संघले गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वस्ती निर्माणको शिलन्याससँगै गैरआवासीय नेपाली र लाप्राकबासीको सपना पुरा हुन लागेको बताउनुभयो ।
‘हामीले एक बर्ष पहिले नै वस्ती निर्माणको सुरुवात गर्न चाहान्थ्यौं, हामीले त्यसका लागि चाहिने सवै पैसा संकलन पनि गरिसकेका थियौं’ अध्यक्ष घलेले भन्नुभयो–‘प्राधिकरण बन्न ढिलाई हुनु र समयमै स्वीकृति पाउन नसक्नुका कारण पनि हामीले चाहेजस्तो छिटो गर्न सकेनौं, ढिलै भए पनि अब नमुना वस्ती विकाशको सपना पुरा हुने भएको छ ।’
अध्यक्ष घलेले केही दिनमै निर्माण कार्य सुरु हुने र आगामी १२ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
गत बर्ष बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट ध्वस्त भएको लाप्राक गाउँलाई सोही गाविसको केही माथि रहेको गुम्सीपाखाका स्थानान्तरण गरी वस्ती विकाश गर्न लागिएको हो ।
लाप्राकमा ६ सय १२ घर बनाउने योजना रहेकोमा हाल सरकारले उपलब्ध गराएको जग्गामा ४ सय ४४ घरमात्र अटने भएका छन् । बाँकी १५० घरका लागि नयाँ ठाउँमा जग्गा खोज्नुपर्ने भएकाले सो जग्गा पनि उपलब्ध गराइदिन अध्यक्ष घलेले प्रधानमन्त्रीसँग अनुरोध गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले बाँकी जग्गा पनि सरकारले नै उपलब्ध गराउने र गैरआवासीय नेपाली संघले ६ सय १२ घर नै बनाउन पाउने आश्वासन दिनुभयो ।
लाप्राक एकीकृत वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन् । वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउस बनाइ गाउँलेलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने संघको योजना रहेको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तलगायत बिभिन्न देशबाट आएका गैरआवासीय नेपालीहरुको उपस्थीति थियो ।
_dsc8998

_dsc9114

_dsc9121

_dsc9127

_dsc9130

_dsc9133

_dsc9149_1