६ बैशाख २०८१, बिहीबार
Follow Us

आन्दोलनका कारण पुनःनिर्माणको काम प्रभावित

sarusaru
२ चैत्र २०७५, शनिबार ०३:११

गोरखा । भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ ।विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् । आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो ।

प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ।

प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ । लाभग्राही भूकम्प पीडितहरुले घर बनाउँदा प्राविधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको उनीहरुले बताएका छन् ।

उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पारेका हुन् । सङ्घर्ष समितिले प्रजिअमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षणसमेत गराइसकेको संयोजक घिमिरेले बताउनुभयो ।

आफूहरुको माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिकहरुको भनाइ छ । गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १०६ इञ्जिनीयर, ७४ सबइञ्जिनीयर र ७१ असिस्टेन्ट सबइञ्जिनीयर कार्यरत छन् ।