६ चैत्र २०८०, मंगलवार
Follow Us

दुबइमा नेपथ्यसँगै जाग्यो उल्लास, भावुकता र नेपालीपन

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७५, शनिबार १५:४८

दुबइ-शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी……, धन्यवाद दुबइ, माया र साथको लागि’

चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो ।

केहि समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो–

‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’

गीतका यि हरफहरुलाई अमृत सँगसँगै दर्शक भीँडले पनि गाएर साथ दिएको थियो ।

यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए –

‘सबैभन्दा पहिले हामी……?’

जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरि सबैले चिच्याएरै जवाफ दिइरहेका थिए–

‘नेपाली’

यो प्रश्नलाई अमृतले बारंबार दोहो¥याएर राखेका थिए । जवाफमा हरेकपटक अझ चर्को स्वरमा उही जवाफ दर्शकले फर्काइदिए ।

दुइ घन्टा लामो चलेको कन्सर्टबाट त्यो भिडियो केहि सेकेण्डको भएता पनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो । दुबइको ‘अल नासेर लिजर ल्याण्ड’ मा मञ्चमा बसेका कलाकार र दर्शकदिर्घा पुरै अवधिभर एकअर्काको समागममा जमेका थिए । अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केहि समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका दस हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई सेयर पनि गरिदिए ।

नेपालीपनको भावनालाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए । सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो ।

‘मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ कन्सर्टमा उर्जा थप्नेगरि मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो,’ अमृतले भने, ‘यस्ता मायागर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौं ।’

दर्शकदिर्घामा आयुष मान डंगोल पनि देखिन्थे । उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन् । आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुष्मिता ताम्राकार पनि थिइन् । नेपथ्यलाई बुधबार संयुक्त अरब इमिरेट्स पु¥याउने वायुयानमा उनीहरु दुवैजना उडान टोलीमा संलग्न थिए ।

‘दुबइमा नेपाली कार्यक्रमलाई खासै महत्वका साथ नहेरिनेगरेको अवस्थामा नेपथ्य यति उच्चस्तरमा प्रस्तुत हुँदा एक हिसाबले राष्ट्रिय गौरव जस्तै महशुस भएको छ,’ आयुषले भने, ‘यहाँ बस्दा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने कमै मौका मिल्नेगरेकामा त्यस्तो दुर्लभ एक अवसर शुक्रबारको कन्सर्टले दिएकोमा खुशी छु ।’

आयुष बितेको तीन वर्षदेखि एयर अरेबियाको विमान उडाउँदै आइरहेका छन् भने सुष्मिताको एघार वर्ष बितिसकेको छ। कार्यक्रम अवधिभर तमाम दर्शकहरुजस्तै उनीहरु दुइजना पनि साथसाथै नाचिरहेका र गाइरहेका देखिन्थे ।

‘हलमा पस्नेबित्तिकै मलाई एकछिन त नेपालै पुगेजस्तो लागेको थियो । आफ्नै दुनियाँमा ब्यस्त रहँदा यहाँ बसिरहेका नेपाली दाजुभाइहरुसँग कमै जुर्ने भेटघाटको अवसर पनि यो कन्सर्टले दिएको थियो,’ आयुषले भने, ‘मैले जुन ब्याण्डका गीतहरु सुन्दै हुर्केको थिएँ त्यसलाई दुबइमा यस्तरी माया गरिएको देख्दा असाध्यै खुशी लाग्यो । रक कन्सर्टको निम्ति पनि धेरै मानिसले परिवारै लिएर आएको देख्दा यो ब्याण्डले जुनसुकै उमेर र वर्गका नेपालीलाई पनि कस्तरी प्रभाव पारेको रहेछ भन्ने पनि देखिँदै थियो ।’

कार्यक्रमको बेला अल नासेरको पार्किङ थलो कारले टनाटन भरिएको थियो । बहुसंख्य नेपाली मजदुरीको निम्ति आइपुग्ने भनेर चिनिएको यो थलो कसरी सम्पन्न नेपालीहरुले पनि भरिँदै जानलागेको छ भन्ने कुराको यसले संकेत गथ्र्यो ।

‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीहरुबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटिका सुजन राजाले भने, ‘अबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यहरुबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए ।’

दुबइमा नेपथ्यको यो दोश्रो प्रस्तुती थियो । यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्याण्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन ।

‘अघिल्लोपटक आउँदा हामी खुशीभन्दा पनि शोक बाँड्न र सक्दो सहयोग जुटाउने उद्देश्य मात्र बोकेर दुबइमा प्रस्तुत भएका थियौं,’ अमृत भन्छन्, ‘त्यसै थलोमा यसपाला खुशी, हर्ष र उल्लासको क्षण बिताउन पाउँदा आनन्द महशुस भएको छ ।’

दुइ घन्टासम्म लगातार चलेको कन्सर्ट राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजहरुको मिश्रण थियो । शो अवधिमा ‘रेशम’ र ‘तालको पानी’ले जसरी दर्शकलाई उल्लासले बुरुक्क बुरुक्क उफारेको थियो त्यसैगरि ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोशीको पानी’ले भावुक बनाएको थियो । त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ले नेपालीपनको भावनासहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।