१३ बैशाख २०८१, बिहीबार
Follow Us

परराष्ट्र मन्त्रालयको चरम लापरबाही, किन हुँदैन कारबाही ?

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७५, आईतवार ०२:१४

काठमाडौं । परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी अन्तर्राष्ट्रिय स्तरमै बदनामी कमाउँदा पनि परराष्ट्रका कर्मचारीमाथि कुनै कारबाही हुन सकेको छैन । परराष्ट्रका जानकारहरूका अनुसार पटकपटक त्रुटि हुने सानो शब्दले अन्तर्राष्ट्रिय जगतमा त्यसको सन्देश भने नकारात्मक प्रवाह हुने गरेको छ । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

गत ११ पुसमा राष्ट्रपतिबाट इन्डोनेसियामा सुनामीबाट ४३० जना भन्दा बढीको ज्यान जाने गरी भएको दुर्घटनाका विषयमा भएको त्रुटि र गम्भीर लापरबाहीले समवेदनाको ठाउँमा बधाईको सन्देश प्रेषित भएको थियो ।
मानवीयतामा प्रयोग हुने एउटा सानो शब्दले हलचल मच्चियो । जसका कारण सामाजिक सञ्जालमा मात्रै बहस भएन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यस विषयमा समीक्षासमेत भएको छ ।

परराष्ट्र मन्त्रालयले आगामी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउने शुभकामना सन्देश र सूचनाका विषयमा गम्भीर भएर समीक्षा गर्ने जनाएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निकालेको विज्ञप्तिको विरोध भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर माफी माग्नुप¥यो । इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोलाई बधाई लेखिएको विज्ञप्ति सच्याउँदै परराष्ट्र मन्त्रालयले पुनः दुःख व्यक्त गर्दै इन्डिोनेसियाका नागरिकका नाममा समवेदना भनी उल्लेख गरेको थियो ।
परराष्ट्र मन्त्रालयले असावधानीका कारण यसअघि निकालिएको विज्ञप्तिमा गम्भीर गल्ती हुन गएकोमा माफी माग्दै विज्ञप्ति सच्चाइएको थियो । त्यसमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतका कर्मचारीले गम्भीर गल्ती गरे पनि सरकारले उनीहरूसँग स्पष्टीकरण सोध्न सकेको छैन । जसका कारण दण्डहीनता मौलाउँदै गएको र परराष्ट्रका अधिकारीहरू गल्तीमा पनि हौसने गरेको अधिकारीहरूले बताएका छन् ।