६ चैत्र २०८०, मंगलवार
Follow Us

‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो: पशुपति

sarusaru
५ चैत्र २०७५, मंगलवार ०६:१३

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पूर्नस्थापना गर्न जनतामा जाने बताएका छन् ।

‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, सक्नुहुन्छ भने कारवाही गरेर देखाउन हामी चुनौति दिन्छौं,’ अध्यक्ष राणाले भने ।

‘राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण गर्दै प्रगति हासिल गर्ने राप्रपा (संयुक्त) को लक्ष्य हो । यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने छौं । आवश्यक परे आन्दोलन पनि गर्छौं,’ सुर्खेतमा आयोजित पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै राणाले भने ।

‘संविधानको कुनै दफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको छ । सोही संवैधानिक अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिएका छन् । बुद्धिजीवीलाई थला पार्छु भन्ने प्रधानमन्त्रीले निमिट्यान्न पार्ने कुरा गरे पनि हामी पछि हट्दैनौ,’ अध्यक्ष लोहनीले भने ।

‘अरुलाई थला पार्ने होइन बास्तवमा नेकपा सरकारले देशलाई नै थला पारेको छ । देश भ्रष्टाचारको दलदलमा फसेको छ । विकास बजेट १५, २० प्रतिशत भन्दा बढी खर्च हुन सकेको छैन । राष्ट्रिय पूँजी र श्रोतमा सानो समूहको हालिमुहाली छ । राष्ट्रको नभएर दलको, दलभित्रको गुटको मात्र यो सरकारले पृष्ठपोषण गरेको छ । सरकारले कुशासन मात्र थोपरेको छ,’ लोहनीले भने ।

नाटकीय परिवर्तन गर्ने जिम्मेवारी पाएको सरकार भ्रष्टाचारले डुङडुङ गनाएको राणाले बताए । वाइड बडी प्रकरणमा सरकारले सर्वदलीय सहमति नै कायम गर्यो । ‘बुढी गण्डकी परियोजनामा बिना टेण्डर ठेक्का दिएर सरकारले व्यापक अनियमितता गर्यो । मेलम्चीको हकमा त बर्खास्त भएको सम्बन्धित सविचले पत्रकार सम्मेलन गरेरै सबै कुरा प्रष्ट पारे । त्यहाँ पनि कमीसनकै चक्कर हो,’ राणाले भने ।

राणाले ८१ प्रतिशत हिन्दु, ९४ प्रतिशत ओमकार परिवार भएको देशमा धर्मनिरपेक्षको व्यवस्था अन्यायपूर्ण भएको धारणा राखे ।

लोहनी भने, यति मात्र होइन, राष्ट्रपतिले राष्ट्रको नभएर दल र गुट विशेषको पक्षमा काम गर्नाले प्रजातन्त्रको विकासमा आघात पुर्याएको छ । ‘यसैले सनातन हिन्दु राष्ट्रका साथै कुनै पनि दलसँग आवद्ध नभएको, सबैलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्था पूर्नस्थापना गर्नुपर्दछ भन्ने हाम्रो ठहर हो ।’