१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लव समूहका कार्यकर्ता नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७५, बुधबार ०७:४५

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको छ ।
अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो ।
महाशाखाले पहिले विप्लवका कार्यकर्ताले फायर गरेको दाबी गर्दै प्रहरीका तर्फबाट जवाफी फायर गरिएको बताएको छ । तर, विप्लव समूहको तर्फबाट गोली चलेको पुष्टि हुन सकेको छैन ।
अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो ।
पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् ।