१३ बैशाख २०८१, बिहीबार
Follow Us

शेफर्डस बुसमा नयाँ नेपाली रेष्टुराँ

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७३, आईतवार ११:०३

पश्चिम लन्डनको शेफर्डस बुसमा ‘नेपाल अथेन्टिक डाइनिङ’ नामक नयाँ रेष्टुरेन्टको औपचारिक थालनी भएको छ । बिहीबार सांझ आयोजित एक कार्यक्रममा ह्यामरस्मिथ एण्ड फुलहामकी मेयर मर्सी उमेय र श्रीमती रितादेवी सिंहले दीप प्रज्वलन र सानो कर्टन उघारेर रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई नेवारी पोशाक लगाएका किशोरीहरुले टिका लगाएर स्वागत गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि मेयर उमेयले नेपाल तथा बेलायतबीच दौत्य संबन्ध कायम भएको २०० वर्ष पुरा भएको स्मरण गर्दै रेष्टुरेन्ट सफलताको शुभकामना दिइन् । शेफर्डस बुसमा संसारभरिका खानेकुरा पाइने बताउँदै उनले नेपाली खाना पनि उपलब्ध भएकोमा खुसी व्यक्त गरिन्।

रेष्टुरेन्टका एकजना सञ्चालक ओजेश सिंहले सगरमाथा, बुद्ध, गोर्खा र खुकुरीका कारण नेपाल संसारभरि चिनिएको बताए। यसबाहेक कला, चाडबाड र खानामा पनि नेपाल समृद्ध रहेको उनले बताए। नेपालको ‘अथेन्टिक’ खानालाई ब्रिटेनमा चिनाउने उद्देश्यले नयाँ रेष्टुरेन्ट शुरु गरेको बताउँदै उनले नेपालको परम्परागत खानालाई नयाँ स्वादमा प्रस्तुत गर्न पनि आफुहरुले प्रयास गर्ने बताए।
त्यस्तै अर्का सन्चालक रिसब श्रेष्ठले अढाइ दशक देखि अनुभव संगालेका सेफले बनाएका नेपाली खाना रेष्टुरेण्टमा उपलव्ध हुने बताए। उनले सबै सहभागी पाहुनाहरुप्रति आभार समेत व्यक्त गरेका थिए ।
1
उद्घाटन कार्यक्रमको संयोजन इमर्ज मार्केटिङले गरेको थियो भने कार्यक्रम सञ्चालन रुसी श्रेष्ठले गरेकी थिइन् । आर के स्क्वायर ब्याण्डले सांगीतिक प्रस्तुत गरेको सो कार्यक्रम पछि पाहुनाहरुकालागि नेपाली खानाको व्यवस्था गरिएको थियो ।