१३ बैशाख २०८१, बिहीबार
Follow Us

तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

sarusaru
७ चैत्र २०७५, बिहीबार ०३:१७

काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।

होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज छुट्टी छ । यद्यपि, २ दिन नै होली मनाइने भएकाले प्रदेश २ सरकारले आज र भोलि दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।

यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।

यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ ।

प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङग््याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।
अनलाइन खबर