१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा समुदायलाई जोड्ने यस्तो दशैं

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७३, आईतवार २०:०२

बेलायतको अल्डरशटस्थित हिन्दु मन्दिरमा नजिकैको गुम्बाबाट फूलपाती भित्र्याएर धार्मिक-सांस्कृतिक सहकार्य, सद्भाव र सहिष्णुताको उदाहरण स्थापित गरिएको छ ।

अल्डरसटको किंग सेन्टरस्थित नेपाली र भारतीय समुदायको संयुक्त सहभागितामा सञ्चालनमा रहेको मन्दिरमा चलिरहेको नवरात्रिपूजाको सातौं दिन मन्दिरमा भित्र्याइने पवित्र फूलपाती नजिकै रहेको बौद्ध गुम्बाबाट ल्याइएको हो । मन्दिरमा यसअघि पनि दुर्गा पूजा हुँदै आए पनि गुम्बाबाट फूलपाती भित्र्याइएको भने यो पहिलोपटक हो ।

मन्दिरको मुख्य सञ्चालक ‘शिव कल्चरल समिति’ले गौतम बुद्ध हिन्दू धर्मका नवौं अवतार भएको र पूजनीय भएकाले यसपटक बौद्ध गुम्बाबाट फूलपाती ल्याउने निर्णय गरिएको बतायो । स्थानीय मन्दिर सञ्चालकहरू र गुम्बाका जिम्मेदार पदाधिकारीबीचको संवाद र सहमतिमा यस्तो निर्णय गरिएको शिव कल्चरल समितिका सांस्कृतिक सचिब विक्रम भट्टराईले बताए ।

मिलिटरी शहरका रूपमा चिनिने अल्डरसटमा नेपालीको बाक्लो बसोबास रहेको छ । यहाँ बौद्ध धर्मावलम्बी र हिन्दू नेपालीहरूको सघन बसोबास रहेको छ । दुबै समुदायबीच मनमुटाव नभए पनि दुबै समूहबीच व्यापक रूपमा सांस्कृतिक सहकार्य र सहभागिता भने हुन भ्याएको थिएन । यस्तो कार्यले परस्पर सद्भाव र सहकार्य बृद्धि गर्ने भक्तालुहरूले बताए ।

मन्दिरमा विद्वान् पण्डित शेखर काफ्लेले दैनिक पूजन र भजनकीर्तनको संयोजन गरिरहनुभएको छ ।