१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा दशैँ टिकाको साईत बिहान साढे दश बजे

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७३, आईतवार २३:३९

फडिन्द्र भट्टराई /लन्डन/
आगामी मंगलवार नेपाली हरुको महान चाड बिजया दशमीको दिनमा बेलायतमा टिका ग्रहण गर्ने शुभ साईत बिहान साढे दश बजे उत्तम रहेको जानकारी स्थानीय पण्डित हरुले दिएका छन । घरमा आफन्तजन हरु बाट टिका ग्रहण गर्दा पूर्व दिशा फर्केर लगाउनु उत्तम रहने कुरा समेत उनीहरुले बताएका छन ।
शुभ साईतको समय पश्चात जुनसुकै समय पनि टिका जमारा ग्रहण गर्न गराउन सकिने जानकारी बेलायतमा क्रियाशील ज्योतिष पण्डित निलहरी घिमिरेले दिएका छन । उनले शुभ समयको निर्धारण बेलायतका अन्य गुरु ज्यू हरु संगको सल्लाहमा निर्धारण गरिएको बताए ।
समय प्रतिकुल रहने हरुको हकमा भने दशैँको दिन आफैमा शुभ रहेकोले साईत समय गुज्रिने वा छुट्ने भए पनि जुनसुकै समय टिका थाप्न, लगाउन सकिने बताईको छ । शुभ मुहुर्तको निर्धारण सम्बन्धित देशको भौगोलिक अवस्थिती अन्तर्गत रहेर ग्रह नक्षत्रहरुको गती र सुर्योदय लाई अधार मानेर तोकिने जानकारी समेत ज्योतिष तथा पण्डित घिमिरेले दिएका छन ।
यसैगरी नेपाल विश्व हिन्दु महासंघ बेलायतका अध्यक्ष चिरन्जीवी ढकालले बेलायतमा काल बेला छलेर अमृत बेलाको छनौट गर्दा बिहानको उक्त समयलाई नै उपयुक्त मानिएको बताएका छन ।
बेलायतका बिभिन्न मन्दिरहरु बाट समेत टिका जमारा वितरण हुँदै
साउथ ईष्ट लन्डनको पशुपतिनाथ नेपाली मन्दिर प्लमस्टिडमा दशैको दिनमा पुजित टिका जमारा वितरण कार्यक्रम आयोजना गरिएको जानकारी मन्दिर समितीका अध्यक्ष बालजंग अर्यालले दिएका छन । उनका अनुसार मन्दिर समितीको निर्णय बमोजिम बिहान ८ बजे देखी नै पण्डित ज्यू हरुबाट सर्वसाधारणको लागी टिका जमारा वितरण गरिने छ ।
त्यसैगरी वेस्ट लन्डन अन्तर्गत साउथल राम मन्दिरमा बिहान १० देखी ११ बजे सम्म टिका जमरा वितरणको लागी आफु स्वयंले समय छुट्ट्याएको जानकारी पण्डित चिरन्जीवी ढकालले दिएका छन । मन्दिर बाट टिका जमारा लिए पश्चात घर घरमा टिका थाप्ने लगाउने तयारीमा अधिकांश नेपाली हरु रहेको जानकारी सामुदायिक स्रोतहरुले दिएका छन
यसका अलावा बेलायतको अल्डरसट, बर्मिन्घम, नोटिंगहम , केन्ट , लेस्टर तथा वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा बस्ने नेपालीहरु समेत स्थानीय मन्दिरहरु बाट टिका ग्रहणको शुभारम्भ गर्ने तयारी गरिरहेका रिपोर्ट हरु प्राप्त भएका छन ।
उपरोक्त मन्दिर हरुमा नवरात्री अवधी भर बिशेष दुर्गा पुजा कार्यक्रम हरु आयोजना गरिएका थिए ।
बेलायतमा बस्ने हिन्दु तथा अन्य धर्मालम्बी नेपाली हरुले समेत दशैँ पर्वको शुभकामना आदान प्रदान गर्दै यो चाड मनाउने गर्दछन ।