७ बैशाख २०८१, शुक्रबार
Follow Us

माध्यमिक शिक्षा परीक्षामा पुरानै तामझाम

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार ०२:१७

काठमाडौँ । कक्षा १० को अन्तिममा सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब माध्यमिक तहको सुरु वा अन्तिम परीक्षा होइन, तर तामझाम र सुरक्षा तयारी भने विगतको जस्तै छ ।
माध्यमिक तह कक्षा ९ बाट सुरु हुन्छ भने कक्षा १२ मा अन्त्य हुन्छ । गत २०७४ सालमा एसईई (साविक एसएलसी) परीक्षा सङ्घस्तरबाट सञ्चालन हुने गरी अन्तिम हुने भनिएको थियो र यस वर्ष पनि त्यही भनिएको छ ।
कानुनतः एसईई परीक्षाको सम्पूर्ण जिम्मा प्रदेशमा रहने व्यवस्था छ तर परीक्षासम्बन्धी सबै जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरिएको छैन र अधिकाँश जिम्मेवारी सङ्घमै निहित छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कक्षा १० विद्यालय तहमा न सुरु हो, नत अन्त्य हो भन्दै थप्नुभयो, “त्यसैले कक्षा ९, १० र ११ को परीक्षा सञ्चालनको जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइनुपर्दछ ।”
एसईई परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयले यस वर्ष परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)मा २५ जना कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । परीक्षासम्बन्धी कार्य गर्न २३ करोड रुपियाँ विनियोजन गरिएको छ ।
उत्तरपुस्तिका तयार गर्ने जिम्मा प्रदेशलाई दिइए पनि प्रश्नपत्र तयारी, परीक्षण र नतिजा प्रकाशनको जिम्मा केन्द्रमै छ । हरेक परीक्षा केन्द्रमा १५ जनाका दरले २९ हजार ५३५ जना सुरक्षाकर्मीलाई खटाइँदैछ ।
“आगामी वर्ष पनि यस वर्षकै जस्तै अन्तरिम व्यवस्था होला भन्ने डर छ” उहाँले थप्नुभयो, “आगामी साउनदेखि के हुन्छ भन्न सकिन्न । कक्षा १० मा अहिलेकै जस्तो तामझामका साथ परीक्षा लिने व्यवस्था हटेमा विद्यार्थीको तनाव र राज्यको खर्च घट्थ्यो होला ।” गाेरखापत्र दैनिकमा खबर छ ।