१३ बैशाख २०८१, बिहीबार
Follow Us

एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७३, सोमबार २३:१५

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो बताउनुभएको छ ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै उहाँले सन्देशमा भनिएको छ – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।”

प्रधानमन्त्रीले दाहालले दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउँदै सन्देशमा यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो भन्नुभयो ।

नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ, उहाँले सन्देशमा भनिएको छ – राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन ग¥यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।

प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रुपमा उभिएको छ भन्दै हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्दछ बताउनुभयो ।

चुनौतीलाई अवसरमा बदल्न दसैँलगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्परिभाषित र पुनःसंस्कार गर्न जरुरी छ भन्दै सन्देशमा हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नैपर्दछ बतउनुभयो ।

यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमुखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ उहाँले सन्देशमा भनिएको छ ।