११ बैशाख २०८१, मंगलवार
Follow Us

सेना परिचालन सम्बन्धी विधेयक फिर्ता लिन काँग्रेसको माग

sarusaru
११ चैत्र २०७५, सोमबार १०:५३

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।
संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्विकार्य नहुने पनि स्पष्ट पारेको छ ।
प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्विकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।
त्यसै गरी काँग्रेस संसदीय दलको बैठकले महंगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।