१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस अनुशासन समितिको निर्देशन : पार्टीविरुद्ध बोले र सामाजिक सञ्जालमा लेखे कारबाही

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार ०१:२०

कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ । समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो ।

समितिले कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका गतिविधि लिखित रूपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।‘त्यस्ता काम, कारबाही र गतिविधि पार्टी विधान र नियमावलीबमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न÷नगराउन सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ ।

अनुशासन समिति सदस्य धनराज गुरुङले नेताहरू जथाभावी आरोप–प्रत्यारोपमा उत्रिएपछि यस्तो निर्णय गर्नुपरेको जानकारी दिए । ‘कांग्रेसमा तथ्यभन्दा पनि भावनामा बहकिएर घोचपेच गर्ने, नालायक भनेर गाली गर्ने संस्कार नै बसिसक्यो,’ गुरुङले भने, ‘त्यसैले जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न नेता कार्यकर्तालाई सचेत गराएका हौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।