७ बैशाख २०८१, शुक्रबार
Follow Us

के हो दशैं, कसको हो दशैं र किन मनाउने दशैं ?

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७३, मंगलवार ०९:५४

     दशैंको  महत्वबारे चर्चा गर्नुपूर्व आजका बालबालिका र किशोर किशोरीहरुको मनोबिज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्तीले मात्र अबका पुस्ताले चित्त बुझाउने छैनन् । विज्ञानको युगमा बिज्ञानसम्मत कारणहरु खोतल्न र खोज्न थालिरहेका छन् । वेद पुराण र किम्बदन्ति कथाहरु लोक साहित्य हुन् । साहित्यका बिम्ब र प्रतीकले ब्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरु त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडी त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशू रहेको हामीले पाउन थालेका छौं । अत:हाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरुलाई बुझाउन सकेनौ भने उनीहरुले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रितिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आबस्यक भइसकेको छ / प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।
                          संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठुलो र महत्वपुर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ /आश्वीन शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म १५ दिन  धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । हाम्रा पिता पुर्खाहरु अर्धबन्य अवस्थाबाट बिकशित हुँदै कृषि युगमा प्रवेश गरे पछी दशैं मान्ने परम्परा शुरु भएको हुनु पर्दछ र पछी गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वानहरुको मत छ । प्राचिन कालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । दशैंको सामाजिक , सांस्कृतिक र राजनीतिक  महत्वको बारेमा पछी चर्चा गरौंला पहिला पौराणिक महत्वको बारेमा चर्चा गरौँ ।
                   देवी पुराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरु माथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरु डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरुको छलफल पछी आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरु एकत्रित भइ शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गरे । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछी शन्ड   मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा  विजय उत्सब मनाइयो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।         
                 अद्भुत रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथा प्रसंग जोडिएको छ दशैंसंग । रामले रावणको बध गरेर अयोध्या फर्के पछी ठुलो जन सभा भयो । त्यो सभामा  रामको जयजयकार र वीरताको बखान चली रहंदा सीताले मुख लेप्र्याएर व्यंग्य मुश्कान छोडेको दृश्य  बिश्वामित्र ले याद गरेका रहेछन् । जनसभा समाप्त भए पश्चात बिश्वामित्रले सीतासंग सोधे । धेरैबेरको अनुरोध पछी सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुञ्छ भने  सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ! त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरिछोड्दिन । रामले प्रतीज्ञा गरे । युद्धको तयारी भयो ।
                           घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए ,कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन बिजयोत्सब मनाए ।            
             श्रीमद देवी भागवत र तुलसी कृत रामायण  अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछी शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा  गर्मि मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन् ।        
                     उपरोक्त आख्यानहरु तत्कालिन साहित्यकारहरुका  साहित्य हुन् । साहित्यमा बिम्ब  प्रतीक  हुन्छन् नै । विद्वान समीक्षक  तथा पाठकहरुले  महिषासुर , रावण , अहिरावण र महिरावण बिम्ब प्रतीकलाई काम क्रोध लोभ मोह अहङ्कार मद् मात्सर्य  अर्थात् खराब  वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक  भनेर अर्थ लगाएको हुन सक्छ । असत्य माथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व भव्यताका साथ  मान्ने  संस्कृतिको प्रादुर्भाव भएको युगौं बिति सकेको छ । अर्का थरि मत अनुसार मानव शरीर नौवटा ढोका भएको दूर्ग हो । नौवटा ढोका भएको दूर्ग अर्थात् नव द्वारको दूर्ग  नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि भेटिन्छन् । ज्ञानरुपी दीयो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरि आत्मा रुपी मन्दिर उज्यालो पार्ने र  काम,क्रोध,लोभ,मोह ,अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरुको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई लिनु पर्दछ ,ति आधुनिक विद्वानहरु भन्ने गर्दछन ।
                     ऋग्वेदमा उल्लेखित धेरै कुराहरु वर्तमान समयमा बैज्ञानिकहरुले बिज्ञान संग तुलना गरेर हेर्ने र सो को अध्ययन अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो बैज्ञानिक अनुसन्धानको सुबिधा नभएकोले र सनातन धर्मका ज्ञाताहरुले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरुको प्रचार प्रसार हुन नसकेको प्रतीत हुन्छ । हाम्रा वेद पुराण उपनिषद् आदि धार्मिक ग्रन्थले भन्दा बैज्ञानिक तथ्यमा आधारित हुँदा हुँदै पनि बैज्ञानिक तथ्यको आधारमा यसको ब्याख्या विश्लेषण र खोज अनुसन्धान  गर्नु भन्दा पूजा उपासना आदिमा सीमित राखिएकोले यसको महत्व बिश्व जनमानसमा न्यून भएको हुन सक्छ । नव दुर्गाको जुन नौ वटा स्वरूप छ त्यसमा बैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्वीन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नव दुर्गाको ध्यान उपासना पूजा आदि गरिन्छ ति नव दुर्गाको बैज्ञानिक स्वरूप स्वामी निशेषा नन्दका अनुसार  यस प्रकार रहेको छ  ।
    १) प्रतिपदामा  = शैलपुत्री =Potential = सम्भाबना शक्ति  
    २) द्वितियामा  = ब्रम्हचारिणी = Magnetic = चुम्बकीय शक्ति
    ३ ) तृतीयामा = चन्द्रघण्टा  = Sound  = ध्वनी शक्ति
    ४) चतुर्थीमा  = कुष्मान्डा  = Chemical = रासायनिक शक्ति
    ५) पन्चमीमा = स्कन्दमाता = Kinetic = आकर्षण शक्ति
    ६) षष्ठीमा =       कात्यायनी = Nuclear = ब्रम्हान्डीय केन्द्र शक्ति
    ७) सप्तामीमा = कालरात्री = Thermal  = प्रसारण शक्ति
     ८) अष्टमीमा = महागौरी = Light = प्रकाश शक्ति
    ९) नवमीमा = सिध्दीदात्री = Electricity = बिध्दुतीय शक्ति
                 यी उल्लेख गरिएका शक्तिहरु बिश्व ब्रम्हाण्डमा र हरेक प्राणीहरुमा बिध्यमान छन् ।
            भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैँ मनाउने भिन्न भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले  १५ दिन सम्म मनाउने नेपाली हिन्दुहरु नै हुन् ता पनि जात जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक फरक छन् । हिन्दुको महान चाड दशैं भए जस्तै गैर हिन्दुहरु जस्तै उदाहरणको लागि बौध्द , इशाई , ईश्लामहरुको पनि महान चाड हुन्छन् । जुन सुकै जात धर्म वा सम्प्रदायले जस्तो सुकै चाड पर्व मनाए पनि त्यसको बैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरु बताउँ छन् । काम , भोजन , आराम , मनोरन्जन र सुरक्षा यी सबै मानवीय प्रवृति हुन् । यिनै मानवीय प्रवृतिको आधारमा चाड पर्व मनाउनुका आधार अंगेजीका  चार वटा आरमा विभाजन गरिएको छ /
    १ ) Remove :- त्याग्नु , छोड्नु वा हटाउनु :- चाड पर्वमा आफ्नो घर आँगन लित पोत र  सरसफाई गर्नु , रङ्ग रोगन गर्नु , पुरानो वस्तु हटाएर नया वस्तु भित्र्याउनु , पुरानो बस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्नु , पुरानो विचार त्यागेर नयाँ नवीन सिर्जनाको योजना बनाउनु ।          
    २) Recharge or Restore :- जसरि मोबाइल ,घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ । त्यसरी नै मानवीय उर्जा शक्ति संचय गर्न  जरुरि हुन्छ ।        
    ३) Relax :-     आनन्द प्राप्त गर्नु वा मनोरन्जन गर्नु । चाड पर्व जीवनको एउटा उत्सब हो । उत्सबमा अनेक परिकार भोजन र मनोरन्जन गरेर आनन्द प्राप्त गर्न सकिन्छ ।
    ४) Relation renew :- नाता सम्बन्ध पुनरनविकरण :- नाता सम्बन्ध जीवन भोगाईको क्रममा अनेकौ कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउने र न्यानो सम्बन्धलाई अझै गाढा बनाउन चाड पर्व महत्व पूर्ण अवशर हो ।
                        
उपरोक्त आधारहरु हिन्दुको दशैंको  मात्र नभएर  ईशाइको क्रिश्मस र ईस्टर , ईश्लामको रमजान , ईदुल फित्र ,बकरिद, किरातीको साकेला ,उधौली उभौली, थकालीको फालो, तोरन्ल, गुरुंगको टोहोंटे,ल्होसार, थारुको माघी , मधेसीको छठ र शेर्पाको ग्याल्पो ल्होसार आदिका  पनि आधार हुन् भन्दा अतिशयोक्ति हुने छैन । किनभने यी पर्वहरु हिन्दुको दशैं जस्तै ठुलो महत्वको पर्व अथवा दशैं रहेको हामी पाउछौं । यो हाम्रो चाड होइन त्यसैले हामी यसलाई मान्दैनौं भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । सबै चाड पर्व मानिसकै सिर्जना हुन् । मानव पुर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हुनाले भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले संस्कृति पनि अलग अलग हुन गएको हो । सबैले याद गर्नु पर्ने एउटा उदाहरण पेश गरूँ, जापानमा  बुध्दको मुर्ति जापानी जस्तै छन् । चिन , थाइल्याण्ड , बर्मा , नेपाल आदिमा उस्तै छ । देवी देवताका मुर्तिको  पनि त्यही हाल छ र मान्छेले आफुले जे भोजन गर्छ त्यहि वस्तु प्रसाद चढाउँछ । भौगोलिक अबस्था अनुसार वस्त्र र खाद्य वस्तुमा पनि बिबिधता छ । यी विविधताका कारणले मानिसहरु आपसमा झगडा गर्नु भनेको मुर्खता सिबाय अरु केहि होइन । त्यसैले सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै सबैको चाड पर्वहरुलाई सम्मानको दृष्टिले हेर्नु नै मानव कल्याणको हितमा हुनेछ ।
                  जुनसुकै मतले जेसुकै भनेता पनि , दशैं मान्ने तरिकामा बिबिधता भए पनि आखिर दशैं त सबै हिन्दुहरुले मनाउँछन्  । किनभने दशैंको सामाजिक र राजनीतिक महत्व पनि रहेकोछ । शरद ऋतु ,वन उपवनमा ढकमक्क फूल फुलेको छ । खेतमा लहलह धानका बालाहरु झुलेका छन् । वारीमा तरकारीहरू ,फलफूलहरु लटरम्म फलेका छन् । वर्षा थामिएको छ ,न जाडो छ न गर्मि । कृषि प्रधान देशका नागरिकहरुलाई हलो ,कुटो ,कोदालो र हिलो माटोबाट फुर्सद मिलेको छ । घरपालुवा पशुपन्छीको बंश वृद्धि भएको छ । यही उमङ्गमय वातावरणमा जिजिबिषाका लागि टाढा टाढा देश परदेशमा गएका आफन्तजनहरुसंगको मिलनले कसको मन उल्लासित हुदैन र ! मीठो खाने , राम्रो लगाउने र मनोरंजन गर्ने फुर्सदिलो क्षण मात्र नभएर   नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवशरको रुपमा पनि दशैंको महत्व रहेको छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैं खर्च दिएर दशैंको महत्वलाई अझै उजागर गरेको छ । 
            हुनेखानेहरुलाई सधैंको दशैं छँदै छ, हुँदा खानेहरुलाई दशैं दशा नबनोस् । दशैं राष्ट्रिय एकताको कारण बनोस् । देशमा सर्बत्र शान्ति छाओस्, विजया दशमीको यही शुभकामना ।