७ बैशाख २०८१, शुक्रबार
Follow Us

अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, अछाम इञ्चार्ज घाइते

sarusaru
१३ चैत्र २०७५, बुधबार ०५:०८

अछाम । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा दोहोरो भिडन्त भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।

गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफ फर्काएको अछामका प्रहरी प्रमुख जनक शाहीले बताए ।

शाहीका अनुसार, ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीले विप्लव समूहले फायर खोलेको बताए पनि विप्लव समूहका एक नेताले भने प्रहरीको भनाइ झुटो भएको दाबी गरे । ‘प्रहरीले सुरूमै हामीमाथि फायर खोलेपछि त्यसको जवाफी फायर हामीले गरेका हौं’, विप्लव समूहका एक नेताले भने ।

प्रहरीको गोली लागी विप्लवका अछाम इञ्चार्ज सामान्य घाइते भएको उनले बताए ।

दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

चन्द समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

यसअघि काभ्रेमा पनि दोहोरो भिडन्त भएको दाबी प्रहरीले गरेको थियो । तर, नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले भिडन्तको प्रहरी दाबी गलत भएको विज्ञप्तिमार्फत बताएका थिए । त्यसको केही दिनपछि उनी काभ्रेबाट पक्राउ परेका थिए । सोमबार मात्रै विप्लवका कोशी इञ्चार्ज पनि प्रहरीबाट समातिएका छनन् ।
अनलाइन खबर