प्रकाश के.सी ।

लण्डन । बेलायत छिरेको नौ वर्ष भएछ, विदेशी बनेको चाहिँ छ वर्ष पुगेछ । ११ वर्षसम्मको हंगकंग बसाइपछिको अर्थात् २१ वर्षपछिको निचोड यही रहेछ । २१ वर्षको अनवरत विदेश बसाइको प्राप्ति भनेको विदेशी बन्नुमात्रै रहेको यो समयको उपलब्धि बनेको रहेछ खासगरी मेरो भनेर मान्नु पर्दा तीखो झीरको घोँचाइको महशुस जस्तो हुन्छ ।

नेपाली पासपोर्ट र विदेशी पासपोर्ट बोकेर अन्य देशहरुको यात्रा गर्दाको बखत मनमा चलेको अनुभूतिको कुरा नगरौं, त्यसो त नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफ्नो जीवन कालमा, नेपाली पासपोर्ट बोकेर हिँड्दा क्षोभ होइन, गर्व गर्न सकिने समय बनाउनेछु भनेर भनेका पनि बीसौं वर्ष नाघिसकेको छ । राष्ट्रियता भन्ने कागजमा मात्र सीमित हुन्छन् कि भन्ने वास्तविकता बोकेको मजस्ताले के नै राष्ट्रियताको कुरा गर्नु र । तर हामीलाई यो हालातमा यसरी असमञ्जस छोड्नलाई अभिप्रेरित गर्नेचाहिँ नेपाली तत्कालीन राजनीतिक अवस्था हो भन्न छोड्दिन ।

मानिसको जीवनमा उर्जाशील २१ वर्ष भनेको खास अनि सार्थक अर्थमा लगभग पूरा जीवन नै हो । आँटेको काम गर्न सकिने यी उमेरका वर्षहरुको २१औं अवसरले म र मजस्तालाई जीवनमा त्यसपछि स्थीर बनाउनु पर्ने हो । बनाएन, स्वीकार गर्दछु ।

स्थीरता मनाकाशमा मण्डारिएको बादलको त्यो थुप्रो रहेछ, जसलाई असामयिक समयको झट्काले नधकेल्नुजेललाई हो, लाग्यो मलाई । काठमाण्डौंबाट पोखरा अनि पोखराबाट हंगकंग हुँदै लामो समय र त्यो समयले कोतरेको अनुभवको कचौरा बोकेर बेलायत भित्रिएको नौ वर्ष बितिसकेछ । यही समयको भोगाइको क्रममा मेरो जीवनले अचानकैजस्तो गरी पचास वर्ष पार गरेको छ । यो पचास वर्ष टेक्दैको बखत जस्तैमा मैले आमालाई गुमाउनु परेको छ ।

जीवनमा आमाको उपस्थितिको आभास भनेको एउटा अनौठो अनि अपारदर्शी यस्तो आवरण रहेछ, जसले हरदम मनलाई सुरक्षित पारेको अनुभूति दिँदो रहेछ, र यो दौरानमा मैले त्यो गुमाएको छु, मैले मेरो सुरक्षा कवच गुमाएको छु ।

पचास वर्षको जन्म दिन भनेको एउटा अध्यायको एक त्यस्तो विन्दु हो, जसलाई नजरअन्दाज गर्न सकिँदैन तर खुशी र दुःख अनि प्राप्ति र खतिको त्यस्तो बेलामा साथीहरुको सौजन्यतामा त्यसबीच केही खुशीहरु खोज्ने जमर्को पनि गरियो । तर मुख्य केचाहिँ भयो भने, यो पचास वर्षपछिको अवधि भनेको यस्तो पनि रहेछ, जसमा उभिएर जीवनमा बिताइएका अनुभवहरु, देखेका घटनाहरु, भोगेका भोगाइहरु र पछाडिको भविष्यको बारेमा सोँचमग्न भइँदो रहेछ, जसमा म पृथक रहन सकिनँ ।

१९९७ मा बेलायतले हंगकंग, चीनलाई हस्तान्तरण गरेर फर्किएपछि हंगकंगमा भित्रिएको मैले त्यस्तो जनाभासको भुक्तभोगी भएको थिएँ, जो हिजोआज यहाँ बेलायतमा हुने गरेको छ ।

९७ को शुरुबाट हंगकंग छोड्नेहरुको हतोत्साहले हंगकंगमा त्यस्तो नकारात्मकताले विद्यता पाएको थियो कि, लाग्थ्यो, गल्ती गरिएछ यसरी हंगकंग आएकोमा । विभिन्न अर्थशास्त्रीहरुको ज्ञानहरुले बजारलाई आततायी पारेता पनि हंगकंग एकै वर्षमा स्थीर हुँदै अर्को वर्षबाट चुलिन थालेको कसैको नजरबाट पनि चुकेको छैन । त्यो अनुभवलाई काखी च्यापेर बेलायत छिरियो । बेलायत छिर्नु एक अर्थमा पलायन हुने परिणति थियो । हंगकंग र बेलायतबीचमा फरक त्यही थियो ।

२०१६ मा बेलायतमा जनमत संग्रह गरियो । ५१.९ प्रतिशत वालिग जनताले युनियनबाट अलग्गिनेमा आफ्नो मत जाहेर गरे, त्यसभित्र म पनि थिएँ । मेरो साथमा १६.१ मिलियन भोटहरुलाई पछार्दै १७.४ मिलियन जनताले युनियनबाट बाहिरिनेमा भोट हाले, जसमा २४२ लाई मात गर्दै ४०६ निर्वाचन क्षेत्रहरु अनि राजनीतिक पार्टीगत निर्वाचन क्षेत्रको आधारमा लेबोर पार्टीको ८४ लाई मात दिँदै १४८ क्षेत्रहरु, कन्जर्भेटिभ पार्टीको ८० लाई मात दिँदै २४७ क्षेत्रबाट बाहिरिनेको पक्षमा मत हालिएको थियो ।
इंग्ल्याण्ड र वेल्सले बाहिरिनेमा अनि स्कटल्याण्ड र नर्दन आयरल्याण्डले भित्र रहनेमा भोट हालेका थिए ।

तथ्यांकमा देखिएअनुसार, सबै पार्टीहरुका एमपीहरुमा ४८० जनाले युनियनमा रहने तर १६० ले बाहिरिनेमा भोट हालेका थिए । युनियनबाट सच्याइएर पास भएको एउटै मात्र सहमतिलाई हाउस अफ कमनमा दुईपटक नै भारी मतमा वहिस्कार गराएर आखिरमा अर्थात् यही २१ तारिख, मेईले युनियनसामु गएर डेडलाइनको मिति सार्नको लागि अनुरोध गर्न वाध्य भएकी थिईन्, जसअनुसार तीनवटा मिति अर्थात् यही मार्चको २९ को साटो, मेको २२, तर त्यसमा सहमति कायम गराउन नसके अप्रिल १२ र त्यसमा पनि दुई क्षेत्रबीच डील जुटाउन नसके लामो समयको लागि स्वतः मिति सर्ने अवस्था बनाइएको छ, जुन अवधिमा बेलायतले युनियनको पार्लियामेन्टको चुनावमा भाग लिनु पर्नेछ । यसरी प्राप्त भएको लामो अवधिमा बेलायतले आर्टिकल ५०, जसले युनियनबाट सदस्य राज्यलाई अलग हुने प्रावधान प्रदत्त गर्दछ, जसलाई अपनाएर बेलायत अलग हुन खोजेको छ, लाई उल्ट्याउन सक्ने अवस्था पनि राखिएको छ ।

मैले माथि राखेको एक तथ्यांकको एक अँशमा भनिएको छ, जनता, पार्टीगत संख्या, क्षेत्रगत संख्या आदिले छुट्टिने भने तापनि तिनको प्रतिनिधित्व गर्ने एमपीहरुको ठूलो सँख्याले चाहिँ युनियनलाई नछोड्ने भएका छन् । आफ्ना दाताहरुको निर्णयलाई लतार्ने एमपीहरु नै वास्तवमा सबैभन्दा मुख्य दोषी हुन् यसरी बेलायतलाई राजनीतिक रुपमा अस्थीरता दिनुमा, जसलाई सही रुपमा आफ्नो भाषणमा प्रधानमन्त्री मेईले बताएकी छिन् ।

अर्को हप्ता अर्थात् यही मार्च महिनाको २९ तारिख, लेखिएअनुसार अनि भनिएअनुसार, युरोपीयन युनियनबाट आधिकारिक रुपमा बेलायत अलग नहुने भएको छ । २३ जुन २०१६ बाट शुरु भएको कथाको सार यही हो अथवा कुरोको चुरो यही हो भनेजस्तै तीन वर्षको अभियानको निचोड यही हो । अब नेपथ्य भित्र र बाहिरको कुरा गरौं ।

विहानै उठेको छु, बाहिर अहिले शरीरलाई जड बनाउन सक्ने चिसो अलि मत्थर भएको छ । अरुजस्तै एकाविहानै शोसल मिडियामा सर्सर्ती खबरहरु छाम्न थाल्छु । खासगरी आफू र आफ्नो पक्षलाई सरोकारी राख्ने खालका समाचारहरु सेयर गरिएका हुन्छन् । तीमध्ये कुन कुन समाचारले कसरी छुँदैछ आफूलाई भनेर लेख्ने विद्वानहरुको फेशबुके, अनि ट्वीटरे भित्ताहरुमा लेखिएका लेखहरुको कुरै बेग्लै । २७ लाखभन्दा ज्यादा नेपालीहरु विदेशी भूमिमा बसोबास गर्दछन्, जसमध्ये केही अँश स्थायी रुपमा विदेशको नागरिकता लिएरै बसोबास गर्दछन् । नेपाल एउटा मूल खम्बा हो, नेपालमा जन्मनेहरुका लागि । त्यही खम्बालाई परिक्रममा गरी नेपालीहरु चाहार्ने मात्र हुन् । म जन्मेको मुलुक मेरो हो । मलाई जन्म दिने आमाबाबा मेरा हुन् ।

म जति नै वर्ष बाहिर रहे पनि ती मेरो हुन्, आफूबाट जति नै वर्ष पर गए पनि तिनले मलाई नकार्न सक्दैनन् । आमाबाबा एक आभास पनि हुन्, जन्मेको मुलुक एक आभास पनि हो । एक पटकको नेपाली सँधैको नेपाली हो । तर नेपालमा साँसदहरुले बहुमतले बाहिरिएर विदेशी बन्नेहरुलाई नकारेका छन् । नेपालसँगको कडी तोड्न थाल्दैछन् । तिनले यो किन बिर्सन्छन्, भावनामा फँसेको कडी होइन, त्यो रगतमा भिजेको कडी हो भनेर ? बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, पोर्चुगललगायतका मुलुकमा नागरिकता लिने नेपालीहरुका लागि त्यो सुविधा हो । सुविधा लिनु अनि खोज्नु प्राकृतिक अधिकार हो । एक व्यक्तिको जन्मसिद्ध अधिकार हो । त्यस्ता जनतालाई नेपालसँग जोड्न सक्ने कडीको तर्जुमा गर्नुको साटो धपाउने कार्य त निन्दनीय हो, यो पक्षले पनि दुखाएको छ ।

यसबीच आप्रवासीहरुको विपरीत आम नागरिकहरुको केही कट्टर उग्र पक्षहरु लागीपरेका छन् । घटना अमेरिका, अष्ट्रेलिया, क्यानाडा हुँदै अहिले न्युजिल्याण्डमा सरेको छ । कसैले युनियनबाट बेलायत अलग हुन खोज्नु त्यही उग्रपक्षको गति हो भनेका छन् । अवसरहरुको आधारमा भन्ने भए हामी जो ज्यादै नै न्युन छौं, हरुका लागि युनियनबाट बाहिरिने अवस्था राम्रो हो, देशको आर्थिक अवस्थालाई आधार मान्ने भए पनि राम्रो हो । हंगकंगमा जस्तै यहाँ अर्थविदहरुको डरलाग्दा भविष्यवाणीहरु एकपछि अको हुँदै गलत प्रमाणित भएका छन् ।

युनियन ठूलो बजार भए तापनि डब्लूटीओअन्तर्गत मात्र रहे पनि बेलायतले एक्लो भएर पनि प्रगति गर्न सक्ने थुप्रै कारणहरु छन् तर देशअनुसारले नभई बराबर साधन तथा श्रोतको परिचालन गरी देशअनुसारको मौलिक अवस्थालाई आँच नदिएर राख्न सकिने भए युनियन धेरै धेरै राम्रो हो, खासगरी सन्ततीहरुका लागि । हाम्रो लागि यतिखेर बेलायतमा उग्रपक्षको उग्र सोँचको आँशिक आशँका मात्र हो जसले खासै मनलाई स्थीरता भने दिन सकेको छैन, तब, जब स्वदेशले पनि पाखा लगाउँदैछ भने ।

मलाई जन्म दिएको लगभग पचास वर्षपछि मेरी आमाको देहान्त भएको छ । मैले अक्सर भन्छु, मृत्यु एउटा त्यस्तो शून्य हो, जो अँध्यारो हुन्छ, निष्पस्ट अँध्यारो । जीवनमा गरिएका अनि बोलिएका र भोगिएका बाहेक सबै हराउँदछन् । सपनाहरुलाई पढ्दै, पन्छ्याउँदै अनि पछ्याउँदै उहाँले आफ्नो ८२ औं जन्महरु काट्नु भयो । समयले दिएका खशीहरुमा रमाउँदै अनि दुःखहरुमा रुँदै उहाँले आफ्नो जीवनको पूरा अवसरहरु बिताउनु भयो । मेरो र आफ्नो भन्दै उहाँले एउटा निजित्वको निर्माण गर्नुभयो । तर आखिरमा ती सबैलाई पाखा लगाउँदै एक रात सुत्नु भयो, त्यसपछि उठ्नु भएन । अचानकै उहाँ पत्थर हुनु भयो, काठ हुनुभयो । के रहेछ त जीवन यहाँ ? हामी दौडधुप गर्छौं, अरुभन्दा राम्रो र सफल अनि सम्वृद्ध राख्न अरुलाई धकेल्छौं, तानेर लडाउन खोज्छौं, केही सफलतामा पुलकित हुन्छौं र ठान्छौं …हामी ठूला हौं, बन्यौं । हामीले हेर्ने अनि हामीलाई हेर्ने नजरियामा फरक आयो । तर आखिरमा त्यही हो, शून्य, अन्धकार र सुनसान ।

मेरी आमाले …एकपटक तिमीहरु बस्ने बेलायत घुमाउँदैनौ भनेर सोध्नुभएको थियो, सकिएन । उहाँलाई बेलायत घुमाउन सकिएन, जहाँ मानिसहरुले आफ्नो चीताको आफै नै प्रवन्ध गर्दछन्, जहाँ आफ्नो अन्तिम बाटोलाई सुलभ राख्दछन् । विरामी आमालाई यो ठाउँ घुमाउन सकिएन । हिन्दू धर्ममा विश्वास दिलाइएअनुसार, अहिले त हामीलाई माथिको आकाशमा कतै बसेर हेर्दै हुनुहोला आमाले र बुझ्दै पनि हुनुहोला, आखिर कति रहेछन् हामीजस्ता गैर नेपालीका लागि, नेपालमा पुसिंग फ्याक्टर ?