६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा एनआरएन संस्थापक अध्यक्षको अस्पताल बन्यो विश्वस्तरीय

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार १६:४४

काठमाडौं–एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी रहेको नेपाल मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पताल बन्न सफल भएको छ ।

सो अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच)मान्यता प्राप्त गर्न सफल भएको हो । यो सँगै मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको हो ।
अस्पतालको सेवा, जनशत्तिलका व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको हो ।

अस्पताल विश्वस्तरीय बन्न सफल भएको खुसीयालीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताए । उनले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र नपुग्ने भन्दै स्वस्थ्य पनि हुनुपर्ने धारणा राखे ।

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उनले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको बताए ।

प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताए ।

हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको जानकारी दिए ।
उनले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको पनि बताए ।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताए ।

यस्तै अस्पतालका अध्यक्ष महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गरे ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिँदै अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने बताए ।