१५ चैत्र २०८०, बिहीबार
Follow Us

९६ करोडको लागतमा एनआरएन मलेसियाको सकृयतामा गोरखामा हाइड्रोपावर बन्ने

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार १६:५८

लण्डन । गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा १४.५५ मेगावाटको हाइड्रोपावर बन्ने भएको छ । गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर र निम्रुङ्ग खोला हाइड्रोपावर बन्ने भएको हो ।
१० मेगावाटको निम्रुङखोला जलविद्युत् आयोजना र ४.५५ मेगावाटको माछाखोला अप्पर हाइड्रोपावर निर्माण हुन लागेको कम्पनीका अध्यक्ष तथा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए । निर्माणका लागि आवश्यक काम सकेर काम अघि बढिसकेको उनले जानकारी दिए ।
‘निर्माण लाइसेन्स लिइसकेका छौं, बाँध निर्माणका लागि सय रोपानी जग्गा निश्चित गरिसकेका छौं,’ न्यौपानेले भने, ‘माछाखोला बजार आसपास पावर हाउस निर्माण गर्ने योजना छ, निर्माणस्थलसम्म पुग्न सडक खनिसकेको छ ।’

आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको हो । आयोजनाको लागत ९६ करोड रहेको छ ।

जसमध्ये १० प्रतिशत लागत स्थानीयबासीको शेयरबाट र बाँकी रकम सम्बद्ध सेयरधनीले गर्ने बताइएको छ ।

हाइड्रोपावरमा एनआरएनएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेसहित सरोज धिताल, विकास अधिकारी, कृष्ण घिमिरे र सुनिलबाबु श्रेष्ठ साझेदार रहेका छन् ।