७ बैशाख २०८१, शुक्रबार
Follow Us

नारी महिमा गाउने ऐतिहासिक गीत अब पलेँटीको युट्युब च्यानलमा

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०५:४७

काठमाडौं, चैत १३ -शहीद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका महानायक हुन् । २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन् ।

तर, शुक्रराज गीतकार पनि हुन् भन्ने कतिलाई थाहा छ ?

गीतकारका रुपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टा प्रस्तुत गरेका थिए ।

उनका गीतका शब्दमा त्यो कालखण्डताका पनि नारी प्रतिको सम्मान झल्कन्छ ।

गीतको शब्दले भन्छ–

‘न घरलाई घर कहिन्छ,

नारी नै दरबार हो’

त्यसैगरि यो गीतलाई स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन्, पहिलो नेपाली गायिका मेलवादेवी । चन्द्रशम्शेरको दरबारमा गायिकाको रुपमा सेवारत मेलवादेवीका भोगाइहरु अहिले पनि दन्त्य कथा जस्तै नेपाली समाजले सुन्दै आएको छ । चन्द्रशम्शेरको प्रिय हुँदाहुँदै पनि एक संगीतकर्मीकै प्रेममा दरबार छाडेकी मेलवादेवीले कालान्तरमा नेपाल छाडेर प्रवासमै जीवन बिताइन् ।

संगीतकर्मीहरुका अनुसार त्यो बेलाको गायकीका हिसाबले मेलवादेवीलाई दक्षिण एशियाकै स्तरमा राखेर तुलना गर्न सकिन्छ । त्यति उच्चस्तरकी गायिका थिइन् उनी ।

ओखलढुँगाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउनसक्ने अद्भूत कला विकास गरेकी थिइन् । गीतको बीच बीचमा उनले लिने गरेका छोटा तानहरु अहिले सुन्दा पनि गजबको लाग्छन् ।

उनको रेकर्ड भएका गीतहरु मध्येमा ‘सवारी मेरो रेलैमा’ बढी चर्चित छ । अर्को गीत हो– ‘न घरलाई घर कहिन्छ ।’ रेकर्ड भइसकेता पनि हिजोआज दुर्लभ भइसकेको शुक्रराज शास्त्री र मेलवादेवीको यो गीतलाई पलेँटी श्रृंखलाले अब आम श्रोताहरुको निम्ति युट्युबमा राखेको छ ।

यस गीतलाई गत महिनाको पलेँटी श्रृंखलामा गायिका मिनाले गाएकी थिइन् । मिनाको आवाजमा यो गीतले मेलवादेवीकै झलक आउने गरि गहनता पाएको प्रतिक्रिया श्रोताहरुले दिएका थिए । ‘त्यसैलाई मनन गर्दै पलेँटी श्रृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो,’ पलेँटीका संयोजक आभास भन्छन्, ‘गीत मेलवादेवी प्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ ।’ गायक तथा संगीतकार आभासका अनुसार उक्त अवसरमा मिनाले गाएको सबै जसो महान गायिकाहरुका गीतलाई क्रमशः युट्युबमा सार्वजनिक गर्ने योजना पलेँटी श्रृंखलाले राखेको छ ।

भर्खरै तयार पारिएको यो लाईभ भिडियोलाई पलेँटीको आधिकारिक यु ट्युब च्यानल
https://www.youtube.com/paletinepalaya मा यो लिंक https://www.youtube.com/watch?v=a4yKyiP0Low
बाट हेर्न सकिन्छ ।

झण्डै १३ वर्षदेखि चल्दै आएको पलेँटी बीचमा केहि समय बन्द भएपछि गत महिनायता ‘थिम’मा आधारित भएर निरन्तरता पाउन थालेको छ । गएको महिना यसले नेपालका महिला स्वरहरुको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो।

यसपाला भने अंग्रेजी महिनाको अन्तिम साता अर्थात् यही साता तीन दिनसम्मै पलेँटीले यसकै संयोजक गायक आभाषको गायन यात्रालाई प्रस्तुत गर्ने भएको छ ।

पलेँटीमा सिट सुरक्षित गर्न चाहनेहरुका निम्ति थुप्रै डट कमले अनलाइनबाटै टिकट वितरणको बन्दोबस्त मिलाएको छ । त्यसैगरि टेलिफोनबाट बुकिंग गर्नेहरुलाई घरमै टिकट पठाइदिने व्यवस्था गरिएको संयोजक आभाष बताउँछन् ।