१३ बैशाख २०८१, बिहीबार
Follow Us

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०९:४७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ । गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो । गैर आवासीय नेपाली संघ एनआरएनएले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो । गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले माननीय गृह मन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापनाबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि अपिल गर्नुभएको थियो । डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउनुभयो ।
यस्तै उपाध्यक्ष कुमार पन्तले आफूहरु नेपाल सरकारसँग मिलेर काम गर्ने इच्छुक रहेको बताउनुभयो ।

सरकारले गैर आवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने बताउनुभयो । भोलिबाट सुरु हुने लगानी सम्मेलनमा समेत उत्साहपूर्वक सहभागी हुने उहाँको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष भट्ट सहित महासचिव डा. बद्री केसी, उपाध्यक्षद्वय कुल आचार्य, कुमार पन्त, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिती थियो ।