६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रधानमन्त्री ओलीको भागमा २० कित्ता सेयर

sarusaru
१४ चैत्र २०७५, बिहीबार १२:२६

काठमाडौँ– सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत माथिल्लो त्रिशुली–बी जलविद्युत आयोजनाको सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा बिहीबार बाँडफाँड गरिएको सो जलविद्युत आयोजनाको सेयर प्रधानमन्त्री ओलीलाई २० कित्ता परेको हो ।
एक हप्ता अघि प्रधानमन्त्री ओलीले सो जलविद्युत आयोजनाका लागि १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए । त्यसैगरी प्रधानमन्त्री पत्नी राधिकालाई पनि २० कित्ता, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता, पूर्व सभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता सेयर परेको छ । प्रधानमन्त्रीसहित आफूहरुलाई पनि सर्वसाधारणले पाए जत्तिनै २० कित्ता सेयर भागमा परेको मन्त्री पुनले जानकारी दिए ।
गत चैत्र ७ गते बिहीबार आवेदन खुला गरिएको सो आयोजनामा ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि १ लाख ५४ हजार ५ सय ५९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका ३० लाख ९१ हजार १ सय ८० कित्ता बाँडफाँड गर्दा प्रधानमन्त्रीसहित सबैलाई २० कित्ता भागमा परेको सो आयोजनाको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पुनले सो सेयर बाँडफाँडबाट जलविद्युत क्षेत्रमा जनताको लगानीको सम्भावना उत्साहप्रद रहेको उल्लेख गर्दै सो आयोजनाको काम समयमै सम्पन्न गर्न पनि त्रिशुली जलविद्युत कम्पनी लिमिटेडलाई सचेत गराए । उनले जनताको जलविद्युत कार्यक्रम अन्तरगत अघि बढाइएको १९ वटै जलविद्युत आयोजनाको काम पारदर्शी ढंगले समयमै सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ घोषणा गरिएको जनताको जलविद्युत कार्यक्रमबाट जलविद्युतमा करिव ७ खरव रुपैयाँ स्वदेशी लगानी जुटाउने सरकारको लक्ष्य छ । त्यसका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले हाललाई ३ हजार ४ सय ७९ मेघावाट क्षमताका १९ वटा जलविद्युत आयोजना छनौट गरेको छ । मन्त्रालयले सो कार्यक्रमका लागि यस अघि नै कार्यविधि बनाई सकेको छ । जनताको जलविद्युत कार्यक्रम अन्तरगत पहिलो पटक माथिल्लो त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर आह्वान गरिएको थियो ।