१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीको टिप्पणी : आमाका अगाडि मावलाको बयान !

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार १५:२४

काठमाडौं– नेपाली काँग्रेसले प्रधानमन्त्री के.पी. ओलीले आज एक कार्यक्रमका क्रममा पार्टीप्रति गरेको टिप्पणीलाई दुःखद र हलुका अभिव्यक्तिको रुपमा चित्रित गरेको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न छैन ।’

विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे पार्टीको धारणा प्रष्ट रहेको भन्दै प्रवक्ता शर्माले नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएको बताएका छन् । तर निषेधले समाधानमा पुग्न नसकिने भन्दै वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग आफूहरुले खोजिरहेको प्रवक्ता शर्माले बताएका छन् ।
‘ हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं । विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन’, विज्ञप्तिमा भनिएको छ ।

बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई पार्टीले स्वागत गर्ने भन्दै तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक भएको प्रवक्ता शर्माले बताएका छन् ।

कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
आज प्रदेश ३ को नेकपाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले विप्लवको समर्थन गर्नु दुःखद रहेको बताएका थिए ।