१२ बैशाख २०८१, बुधबार
Follow Us

बिरामी यात्रु सडकमा फाल्ने ट्याक्सीचालक पक्राउ

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार ०१:४५

काठमाडौं–सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा पु–याउन भनेका थिए ।
उनी ट्याक्सीमा चढेको केही समयमै बेहोस भए । तर, चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयाससमेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्यान्ड्स अस्पतालअगाडिको सडककिनारामा झारिदिए र भागे । स्थानीयले निकैबेरपछि प्रहरीलाई खबर गरेर उनलाई अस्पताल पठाए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो ।

बुबाको प्रतीक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु भइसकेको थियो । बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारीहरूसमेत चकित भए । बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमलबहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जोकोहीलाई स्तब्ध बनाउँछ । सय मिटर पर अस्पताल हुँदाहुँदै सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । सबैले चालक कमल श्रेष्ठको निन्दा गरेका छन् ।

‘सिसिटिभीकै सहयोगमा हामीले उनलाई पक्राउ गरी कारबाही अघि बढाएका छौँ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्ल भन्छन्, ‘उनले समयमै बिरामीलाई अस्पताल लगेको भए बाँच्ने सम्भावना थियो ।’ दोलखा घर भएका चालक श्रेष्ठले आत्तिएर बिरामीलाई सडकमा राखेर भागेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।