१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुलुक नयाँ आत्मश्विास र उत्साह बोकेर समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री ओली

sarusaru
१७ चैत्र २०७५, आईतवार ११:५९

काठमाडौं, १७ चैत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएसँगै मुलुक विकास र समृद्धिको यात्रामा नयाँ आत्मविश्वास र उत्साह लिएर अघि बढेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘आज नेपाल नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढिरहेको छ । अब पहिलेकोजस्तो अवस्था छैन् । हामी आज हिजोकोभन्दा फरक अभियान र यात्रामा होमिएका छौं । हिजो हामी राजनीतिक लडाई लड्यौं । अधिकार प्राप्तिको लागि संघर्ष ग¥यौं । हामीले प्राप्त गरेका परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढेका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले द्वन्द्व व्यवस्थापन गरेको पनि स्पष्ट पारे । उनले भने,‘हामीले मुलुकका समस्या कुशलतापूर्वक समाधान गर्दै आएका छौं । निरंकुशतालाई समाप्त पारेका छौं । अहिले हाम्रो काँधमा समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मेवारी आएको छ । सबै मिलेर अभिभारा पूरा गर्नुपर्छ ।’
उनले नेपाल एक्लैले पनि बनाउन सक्ने बताए । यद्धपी नेपाल एक्लैले बनाउँदा केही विलम्ब हुने तर्क गरे । ओलीले भने,‘त्यसैले समृद्धिको लागि हामी सहकार्य गर्छौं । हाम्रो कोहीसँगपनि दुश्मनी छैन् । असमझदारी छैन् । छिमेकहरुसँगपनि असमझदारी छैन् । हामी हाम्रो सार्वभौमिकता र समानताको आधारमा सम्बन्ध अघि बढाउन चाहन्छौं ।’
नेपालभित्र जातको नाममा, भूगोलको नाममा अनेक नाउमा फाटो ल्याउन खोज्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुलाई पनि आफूहरुले पराजित गरेको प्रधानमन्त्रीको दाबी छ । उनले आफूहरुले पृथकतालाई अन्त्य गरेको स्पष्ट पारे । उनले भने,‘देश टु्क्रयाउँछु भनेर माग राख्ने पृथकवादलाई अन्त्य गरेका छौं ।’
मुलुकको विकास र समृद्धिको लागि सबैले एकजुट भएर प्रयत्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले थपे,‘हिजोमात्रै काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलन उत्साहपूर्वक र उपलब्धिमूलक रह्यो ।’
प्रधानमन्त्री ओलीले मुलुकमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार गठन भएर संविधान कार्यान्वयनतर्फ अघि बढिरहेको पनि सुनाए । उनले भने,‘संविधानका प्रावधानअनुसार हामी अघि बढिरहेका छौं । अधिकार, स्रोत तथा विभिन्न स्रोत बाँडफाँड र कर्मचारी समायोजना गरेर अघि बढेका छौं ।’ सरकारको पहिलो वर्ष कानुन निर्माण गर्नेदेखि लिएर विकासको लागि जग हाल्ने आधार वर्षको रुपमा काम भएको उनको दाबी छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा नेपाली सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको भन्दै ओलीले प्रशंसा गरे । उनले भने,‘लोकतन्त्रको रक्षा र लोकतन्त्रलाई सुदृढ गर्न मिडियाको सहयोग रहँदै आएको छ ।’ सामाजिक न्यायसहितको सुरक्षामा पनि नेपाल धेरै माथि रहेको उनको भनाई छ । उनले भने,‘मिडिया सकारात्मक हुनुपर्छ । मुलुकको विकास र समृद्धिको लागि मिडियाको भूमिका धेरै महत्वपूर्ण छ ।’ यद्धपी उनले सञ्चार जगतले सत्यलाई सत्य र असत्यलाई असत्य भन्नुपर्ने स्पष्ट पारे । उनले भने,‘प्रतिष्पर्धापनि स्वस्थ हुनुपर्छ । सही ढंगले आफ्नो अभिभारा पूरा गर्नुपर्छ ।’
आफूहरु विश्वकै सभ्य पूर्खाहरुको सन्तती रहेको उल्लेख गर्दै उनले भने,‘हामी सभ्य पूर्खाका सन्तती हौं । बाँकी दुनियाँ अन्धकारमा हुँदा हामी ज्ञान र विज्ञानमा धनी थियौं । त्यसैले हामीले आफ्नो परम्पार र सस्कृतिलाई भुल्नुहुँदैन् । पूर्खाको गौरवलाई हामीले भुलेर गल्ती गर्नुहुँदैन् ।’
कुनै प्रकारको नकरात्मक कुरा गर्न नहुने उनको धारणा छ । उनले भने,‘अनुचित काम र भ्रम सिर्जना गर्ने काम गर्नुहुँदैन् ।’
क्लब र यसका सभापति ऋषि धमलाको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने,‘क्लब २० औं वर्ष पूरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ । यो यात्रा उतारचढावहरुको यात्रा रहेको थियो । यस बिचमा क्लबले अप्ठ्यारो परिस्थिति देख्यो । झेल्यो ।’
देशले अहिले अनुकुल परिस्थिति पाएको र क्लबपनि अप्ठ्यारोबाट मुक्त भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उनले भने,‘रिपोर्टर्स क्लब अहिले परिपक्व भएको छ । यसको जन्म, विकास सबै कुरा पत्रकार धमलाको वरिपरि घुमेको छ ।’
प्रधानमन्त्री ओलीले पत्रकार धमलाको भूमिकाको खुलेर प्रशंसा गरे । उनले भने,‘ऋषि धमला थांग्रो लगाएर माथि चढेको व्यक्ति होईन, बलियो जरा गाडेर उक्लिएको व्यक्ति हो । आफूलाई जमिनबाट विकास गरेको त्यो पनि आफ्नै मेहनतमा बनेको व्यक्ति हो । ऋषि धमला प्रतिकुलताबाट माथि उठेको व्यक्ति हो । उहाँले हावाहुरी देखेको छ । दुःख, कष्ट सहेको छ । तर, आज एउटा यस्तो परिस्थिति सिर्जना भएको छ । कसैलाई मन परोस वा नपरोस विहान उठ्नेबित्तिकै मञ्जन मन परेपनि नपरेपनि दाँत माझेजस्तै, धमलाजीपनि त्यस्तै हो । जताततै धमलाजी छाएकै हुन्छ ।’
पत्रकार धमलाको स्वभाव भने अलिक जबरजस्त रहेको उनको भनाई थियो । उनले भने,‘तर,जबरजस्ती नगर्ने स्वभाव भएको भए आज कुन कुनामा फसेर बस्दथ्यो, कुनै बेला उहाँमाथि टिभीमा आईरहने भनेर आरोप लाग्दथ्यो होला, तर आज धमलाको पछि टिभी लाग्छ ।’
पत्रकार धमला र क्लबले अहिले आफ्नो पहिचान स्थापित गरिसकेको उनको भनाई छ । उनले भने,‘नेपालमा कसैलाई रिस उठ्यो भने रिपोर्टर्स क्लब, घरमा झगडा भयो भने धम्की दिने र घुर्की लगाउने ठाउपनि क्लब भएको छ । श्रीमान–श्रीमतिबीच घर झगडा भयो भने पनि रिपोर्टर्स क्लब जान्छु भन्ने, त्यो खाले पत्रकारिता, सशक्त ब्राण्ड हो–रिपोर्टर्स क्लब र ऋषि धमला ।’
ऋषि धमलाले बोलेका कुरा आज ब्राण्ड बनेको पनि प्रधानमन्त्री स्मरण गराए । उनले भने,‘भन्नुस नेता ज्यू जनता जान्न चाहन्छन् भन्दाभन्दै आज त्यही ब्राण्ड बनेको छ । धमलाको हमला अहिले अर्को ब्राण्ड बनेको छ । ऋषि धमला आफ्नोपन र आफ्नै विशेषताले विशिष्ट पहिचान बनेको छ ।’
ओलीले नेपालमा छाएका र मुर्धन्य पत्रकारहरु धेरै रहेको सुनाउँदै भने,‘छाएका पत्रकारहरु,मुर्धन्य पत्रकारहरुले चित्त नदुखाए हुन्छ, सरकारी टिभी, सरकारी रेडियोबाट होईन, आफ्नै तरिकाले बुद्धिमता, तन र प्रयासले ऋषि धमला अघि बढ्नुभएको छ । आगामी दिनमा पनि सकारात्मक भूमिका अघि बढोस्।’
क्लबले २१ औं वार्षिकोत्सवको अवसरमा सम्मान तथा पुरस्कृत गरेका सबै व्यक्तिहरु योग्य रहेका उनको भनाई थियो । उनले भने,‘पुरस्कारयोग्य थुप्रै हुनुहुन्छ, छनौट गर्नु सजिलो काम होईन । तर, जो परस्कृत हुनुभएको छ, उपर्युक्त छनौट हो ।’
सबैको प्यारो नभै नहुने ऋषि धमला
बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्छ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरेका छन् । दाहालले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताएका हुन् ।
अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको दाहालले बताए । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको उनले स्पष्ट पारे ।
“सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” उनले भने ।
संविधान संशोधनको मागप्रति लक्षित गर्दै दाहालले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशिल दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने दाहालले बताए । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे ।
देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उनले २१ शताब्दीको परिस्थितीमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताए ।
नेपाललाई गरिब देशको रुपमा नभै विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको दाहालले बताए ।
हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने दाहालले बताए । मञ्चमा रहेका नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलाई सम्बोधन गर्दै दाहालले छिमेकी देशहरुको सहयोग पनि आवश्यक रहेको बताए ।
पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै दाहालले चिन्ता व्यक्त गरेका छन् ।
“कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन् ।” दाहालले भने ।
आफू अमेरिका गएका बेला अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति दाहालले असन्तुष्टी पाखे । “एउटा नेपालीले नै मलाई हत्यारको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?” दाहालले भने ।
अमेरिका जाँदाको तितो अनुभव भन्दै दाहालले त्यसो भनेका हुन् । आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराए ।
आफू डराएर यो अनुभव सुनाएको नभै श्रीमतीको उपचारमा जाँदा समेत त्यस्तो गरिएकोमा दुःख लागेका बताए ।
“मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।”–दाहालले भने ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।
फरक प्रसंगमा दाहालले राजतन्त्रको अन्त्यपछि पनि यो प्रक्रियालाई उल्ट्याउने कुरा निरङ्कुशतावादी शक्तिको दिमागमा रहिरहनु सामान्य भएको बताए । तर इतिहासको एउटा मञ्चमा मिल्काइएको कुनै पनि शक्तिलाई अब कसैले पनि आत्मसात नगर्ने दाहालले बताए ।
“संघीय लोकतात्रिक गणतन्त्र उल्ट्याएर फेरी पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव छ । तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन् ।” दाहालले भने । बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्ने उनको तर्क थियो । त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने दाहालले बताए ।
क्बलको २१ वर्षमा प्रवेश गरेको अवसरमा दाहालले क्लब र यसका संस्थापक ऋषि धमलालाई बधाई तथा शुभकामना व्यक्त गरे । “एउटा मान्छेले आफ्नो पेशाको लगन सक्रियता र मिहिनेतले कतिसम्म सफल हुन्छ भन्ने उदाहरण ऋषि धमला र रिपोर्टर्स क्लब हो ।”–दाहालले भने । दाहालले धमला र क्लबबाट मिहिनेत र लगनशिलताको नक्कल गर्नुपर्नेसमेत बताए ।
देश र जनताका लागि धमलाको भूमिका महत्वपूर्ण भएको उनले बताए । २०६३ साल असार २ गते राति धमलासँग अन्तरवार्ता दिएको स्मरण गर्दै दाहालले त्यसबेला राम्रोसँग चिन्न नसकेको धमलालाई अहिले चिनिसकेको बताए ।

“राति १ बजे विना स्वीकृति अन्तरवार्ताका लागि आउनुभयो । भोली अन्तवार्ता दिन्छु भन्दा पनि मान्नुभएन । राति नै खुला राजनीतिमा आएपछि उहाँसग दिएको अन्तरवार्ता पहिलो हो । सुरुमा त कस्तो जिद्धी रहेछ भनेर रिस पनि उठ्यो ।” दाहालले भने ।
“केही समयअघि मैले भनेको थिएँ माया वैगुनी नभै नहुने । तर अहिले फेरिएको छ । त्यो गित योग्य छैन । सबैको प्यारो नभै नहुने ऋषि धमला बनिसक्नुभएको छ ।” दाहालले भने । धमलाले बनाएको प्लेटफर्म सबैलाई चाहिने अवस्था आएको भन्दै दाहालले धमलाको हमला सहनै पर्ने बताए ।
अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले पनि मुलुकमा राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै अब समृद्धिको दिशामा अघि बढ्ने बेला आएको बताए । उनले क्लबले स्थापनाकालदेखि आजसम्म निरन्तर देश र जनताको पक्षमा आफूलाई उभ्याएको भन्दै प्रशंसा गरे र २१ औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए ।
समारोहमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रिपोर्टर्स क्लब नेपाल सबैको साझा चौतारी भएको बताए । उनले भने,‘क्लबले ईस्यु अफ द डे पक्रिएर आफूलाई जीवन्त तुल्याएको छ । आगामी दिनमा यसको स्तरीयता कायम गरोस् । मुलुकको समसामयिक विषयमा क्लब र यसका अध्यक्ष ऋषि धमलाले जीवन्त छफल गराउनुहुन्छ । क्लब साझा चौतारी हो ।’
मन्त्री ज्ञवालीले विषयवस्तु छनौटको मानक कायम गरेर जान सकोस भन्दै क्लबलाई आगह गरे । पछिल्लो समय ‘भिजिवल नेपाल’ प्रोफाईल बनेको पनि उनको भनाई छ । नेपाललाई उदाउँदो ताराको रुपमा विदेशीहरुले चित्रण गरेको पनि उनको तर्क छ । उनले थपे,‘हामी सबैसँग मित्रता कायम गर्ने र कसैसँगपनि शत्रुता कायम गर्दैनौं ।’
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको स्पष्ट पारे । यो वर्ष नेपालको मिडिया क्षेत्रमा विशेष काम भएको उनको भनाई छ । उनले भने,‘यो वर्ष मिडियाको क्षेत्रमा विशेष हुँदैछ । समानुपातिक समावेशी विज्ञापन र क्लिन फिड लागु गर्दैछौं । के यो काम गर्नु नराम्रो हो ?’
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले मिडिया क्षेत्र असुरक्षित नरहेको जिकिर गरे । उनले भने,‘यो वर्षबाट मिडिया क्षेत्र बरु सुरक्षित भएको छ । सरकारले दम्भ देखाएको छैन् । हामी काम गर्छौं ।’ पत्रकारको वृद्धिविकासको लागि ५ करोड ३४ लाख छुट्याएको उनको भनाई छ । प्रेस स्वतन्त्रतामा कुनै पनि हमला नहुने उनको दाबी छ ।
उनले सरकारले मिडियालाई व्यवस्थित गर्नको लागि छाता ऐन ल्याउन लागेको पनि सुनाए । उनले थपे,‘प्रेस स्वतन्त्रता अपहरित हँदैन् । यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगरे हुन्छ । उसको र यो सरकारको पृष्ठभूमि र उधेश्य नै फरक छ । कुनै तुलना हुनै सक्दैन् ।’
मन्त्री बाँस्कोटाले पत्रकार ऋषि धमलाको भूमिकाको प्रशंसा गरे । उनले भने,‘हामी एउटै पेपरमा सँगै काम गरेका थियौं । त्यतिवेलादेखि नै उहाँको गतिशिलता राम्रो थियो । आज ऋषि धमला न्यूज मेकिङ गर्नुहुन्छ, ब्रेकिङ न्यूज दिनुहुन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्ने बताए । उनले भने,‘सरकारले प्रतिपक्षसँग सल्लाह गर्नुपर्छ । मुलुकमा राजनीतिक संक्रमण अन्त्य भयो । अब विकास र समृद्धिको लागि भाषणबाजी गरेरमात्रै हुँदैन् । काम गर्नुपर्छ ।’
महतले क्लब २१ औं वर्षमा प्रवेश गरेकोमा बधाई दिए । उनले भने,‘रिपोर्टर्स क्लब नेपाल स्थापना भएको भर्खरैजस्तो लाग्छ, तर कति चाँडो समय बितेछ । स्थापनाकालदेखि नै ऋषिजीले धेरै मेहनत र प्रयास गर्नुभएको छ । त्यसैले पर्याप्त हैसियत बनाउनुभयो । म निकै प्रभावित छु ।’
पत्रकार धमला लागिसकेपछि कुनै कुरापनि नछोड्ने उनको तर्क छ । उनले भने,‘आज क्लब शक्तिशाली मिडिया फोरम बनेको छ । लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि क्लबले अतुलनीय भूमिका निर्वाह गरेको छ ।’ उनले नेपाललाई विश्वको सदासहायता रहेको बताए । उनले थपे,‘नेपाललाई सँधै सबैको सदासहायता छ ।’
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आंशका गरे । उनले भने,‘कता–कता यो सरकारले दुई तिहाईको दम्भले मिडियालाई आतंकित पार्ने काम गरेको आंशका उत्पन्न भएका छन् । यो धेरै दुःखद् हुन जान्छ ।’
लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउनको लागि सरकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ । उनले भने,‘आफ्नो असफलता लुकाउनको लागि सरकारले सत्ताको दम्भ देखाउनुभएन् ।’
नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले रिपोर्टर्स क्लब नेपाल २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेकोमा बधाई दिए । उनले भने,‘आगामी दिनमा पनि क्लबले सशक्त भूमिका निर्वाह गरोस् । क्लब २१ वर्षमा प्रवेश गरेको छ । क्लब र यसका परिवारप्रति गर्व छ । खासगरी ऋषिजीप्रति सम्मान छ ।’
राजदुत पुरीले पत्रकार धमलालाई जुझारु पत्रकारको रुपमा चित्रण गरे । उनले भने,‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनको पक्षमा ऋषिजीले ठूलो काम गर्दै आउनुभएको छ। मानव जातिको विकासको लागि यी कुराहरु महत्वपूर्ण छ ।’
रिपोर्टर्स क्लब सबैको लागि उपयुक्त प्लाटफर्म भएको उनको तर्क छ । उनले भने,‘क्लबमा स्वतन्त्र, निश्पक्ष र आक्रामक साक्षात्कार हुन्छ । फेस–टु–फेश हुने मौका मैले पनि पाएको छु।’ उनले क्लब अझै प्रगतिको बाटोमा अघि बढोस भन्दै शुभकामना दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतोले राष्ट्रको विकास र समृद्धिको लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले भने,‘विकास र समृद्धिको सवालमा हामीबीच एकमत हुनुपर्छ । यसको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।’
अहिले सबै नेपालीमा देश बनाउने भावना जागृत भएको बताउँदै डा. महतोले विकास र समृतिको लागि उत्साहित वातावरण निर्माण भएको तर्क गरे । उनले भने,‘नेपाल सबै हिसाबले अवसर नै अवसर भएको देश हो । हामीले संकल्प गर्यौं भने देश बनाउन सक्छौं ।’
महतोले देश बनाउने क्षमता र योग्यता नेपालीहरुमा भएको बताए । उनले भने,‘हामी नेपालीहरु जे ठान्छौं, त्यो गर्न सक्छौं । देशको गौरवलाई माथि उठाउनको लागि हामी सक्षम छौं । त्यो किसिमको क्षमता हामीमा छ ।’
पुँजीको कम लगानीमा बौद्धिक र शारिरीक मेहनतका कारण पत्रकार ऋषि धमला स्थापित भएको महतोको भनाई छ । उनले भने,‘एउटै काममा लगातार लागिरहने व्यक्तित्वको रुपमा मैले ऋषि धमलालाई लिएको छु । उहाँ अथक प्रयास र मेहनतका कारण आज स्थापित हुनुभएको छ । रिपोर्टर्स क्लब नेपाललाई हार्दिक बधाई छ । मिडियाको मुख्य धर्म भनेको नै सत्य लेख्नु र तथ्य खोज्नु हो । यो उधेश्यमा क्लब अविचलित रहोस् ।’
क्लबका सभापति ऋषि धमलाले मुलुकको परिवर्तनको पक्षमा क्लब उभिँदै आएको र महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए । आगामी दिनमा परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने र लोकतान्त्रिक मूल्य र मान्यतामा अविचलित भई काम गर्ने पनि धमलाले विश्वास दिलाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को भीजनलाई सार्थक तुल्याउनको लागि क्लबले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने पनि उनले स्पष्ट पारे । उनले भने,‘हिजो क्लबले परिवर्तन र दलीय व्यवस्थाको पक्षमा सशक्त भूमिका निर्वाह गरेको छ ।’
मुलुकको विकास र समृद्धिको लागि सरकार र प्रतिपक्षी दललगायत सबै सहमति, सहकार्य र एकता गरेर अघि बढ्नुपर्ने धमलाको भनाई थियो । उनले भने,‘प्रेस लोकतन्त्रको प्राण हो । क्लब सकारात्मक सोच राखेर अघि बढेको छ । अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ ।’