७ बैशाख २०८१, शुक्रबार
Follow Us

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा सम्पन्न

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७३, बुधबार १०:०७

विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ ।

नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु गरिएको थियो ।

कुभिन्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

नवमीका दिन कोतमा बलि दिइएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिन्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो ।

एकादशीका दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पत्र गरिएकोे हो ।

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिन्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरेपछि थकाली (पमा) ले बलि दिएका थिए । कुभिन्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुःख, शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ । रासस