१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कुमार पन्तद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार ०४:०९

काठमाडौं– एनआरएन उपाध्यक्ष कुमार पन्तले आगामी नेतृत्वको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नवौ विश्व सम्मेलनमै अध्यक्षको दाबेदार रहेका पन्तले १० औं विश्वसम्मेलनमा आफूलाई सशक्त दाबेदारको रुपमा प्रस्तुत गर्दै उम्मेदवारी दिन लागेका हुन् ।
काठमाडौंमा नेपाल ब्रिटेनसँग कुराकानी गर्दै उनले १० औं विश्वसम्मेलनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।
नवौ विश्वसम्मेलनमा अन्तिम समयमा दाबेदारी त्यागेर पन्तले भवन भट्टलाई अध्यक्षमा सहयोग गरेका थिए । त्यतिबेला भट्ट र पन्तबीच अर्को कार्यकालमा पन्तलाई अधयक्षमा सघाउने समझदारी बनेको बताइन्छ ।
पन्तले भने, ‘सबै साथीहरुले यस पटक तपाइ नेतृत्वमा आउनु पर्छ भनेर सुझाव सल्लाह दिनु भएको छ । उम्मेदवारी दिने तयारीमा छु,, र त्यो स्वाभाविक पनि हो ।’
यद्यपि उनले भट्टसँग भएको सहमतिको विषयमा भने केही खुलाउन चाहेनन् ।
लगानी सम्मेलनमा सहभागि हुन काठमाडौं आएका उनले नेतृत्व आफ्नो पक्षमा पार्न लबिङ समेत थालेको बताइएको छ । यस्तै जर्मनीलाई आफ्ना कर्मथलो बनाउँदै आएका उनले विश्वका बिभिन्न देशमा भेटघाट र लबिङलाई तीब्र बनाएको बताइन्छ ।
गोर्खा स्थायी ठेगाना भएका पन्त अध्ययनको सिलसिलामा १९९० को दशकमा ग्रिस हुँदै जर्मनी पुगेका थिए ।
विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंम हुँदैछ ।