१५ चैत्र २०८०, बिहीबार
Follow Us

गण्डकी मेडिकल कलेजका कर्मचारी धरौटीमा रिहा

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार १६:३२

कास्की– गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा पक्राउ परेका कलेजका दुई कर्मचारी आज धरौटीमा रिहा हुनुभएको छ ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा जिल्ला अदालतको मागबमोजिम जनही रु १७ लाख बैंक जमानतमार्फत धरौटी रकम बुझाएर तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए। आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको थियो । कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते उनीहरुलगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो । कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत अन्य नौ जना सञ्चालक एवम् कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ । यसअघि अध्यक्ष अर्याललगायत छ जनाले पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेकामा चैत १ गते अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।