१५ चैत्र २०८०, बिहीबार
Follow Us

जापानमा सुरु भयो विदेशी कामदार सम्बन्धि नयाँ भिसा नीति

sarusaru
१९ चैत्र २०७५, मंगलवार ११:१०

जापान – चर्को कामदारको अभाव झेल्दै आएको जापानले अप्रिल १ देखि नयाँ भिसा प्रणालीअनुसार विदेशी कामदार भित्र्याउने नीति लागू गरेको छ ।

जापानले विद्यमान परम्परागत विदेशी कामदार भिसा प्रणालीमा दुई प्रकारका विशेष भिसा थप गरी ठूलो संख्यामा विदेशी कामदार ल्याउने नीतिअनुसार अप्रिल १ देखि सो व्यवस्था लागू गरेको हो ।
नयाँ व्यवस्था अनुसार न्याय मन्त्रालयको मातहतमा रहेको इमिग्रेशन ब्यूरोलाई इमिग्रेशन सर्भिस एजेन्सी (अध्यागमन सेवा विभाग) मा परिवर्तन गरिएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै सो एजेन्सीका प्रमुख शोको सासाकीले नयाँ भिसा प्रणालीअनुसार जापानमा आवश्यक संख्यामा विदेशी कामदार भित्र्याउन सहज हुने बताईन् ।

एउटा निश्चित तहको जापानी भाषा परीक्षा उत्तीर्ण गरेका र कामको अनुभव भएका विदेशीहरुले नयाँ ब्यवस्था गरिएको विशेष प्रकारको दक्ष कामदार – १ मा आवेदन गर्न सक्ने भएका छन् । उनीहरुले भौतिक संरचना निर्माण, कृषि, नर्सिङ कियर लगायतका १४ वटा क्षेत्रमा ५ वर्षसम्म काम गर्न पाउने छन् । तर उनीहरुले परिवार ल्याउन भने पाउने छैनन् । यसैगरी विशेष दक्ष कामदार-२ मा आउने विदेशीहरुले भने परिवार ल्याउन पाउनेछन् र उनीहरुलाई पटक पटक भिसा थप्न पाउने भएपनि लगभग स्थायी भिसाबाहकसरहको मान्यता हुने बताईएको छ । जापान सरकारले आगामी ५ वर्ष भित्रमा पहिलो क्याटगोरीको भिसामा ६० हजार नर्सिङ कियरसहित करीव ३ लाख ४५ हजार विदेशी कामदार जापान भित्र्याउने लक्ष लिएको छ ।
न्याय मन्त्रालयका वरिष्ठ अधिकारीले मध्य अप्रिलदेखि पहिलो चरणमा जापानमै रहेका योग्यता पुगेका विदेशीहरुले नयाँ ब्यवस्थाअनुसार भिसा स्टाटस परिवर्तन गर्न चाहनेहरुको आवेदन पर्न सक्ने अपेक्षा गरिएको बताएका छन् ।
अहिले जापानमा करीव १ लाख ५० हजार विदेशी कामदारहरु रहेको बताईन्छ । यद्यपि बृद्धाहरुको बढ्दो संख्या, घट्दो जन्मदरका कारण जापानलाई अझै ठूलो संख्यामा विदेशी कामदारको आवश्यकता परेकोले नयाँ भिसा प्रणालीको प्रावधान राखिएको हो । नयाँ भिसा प्रणालीअनुसार जापान आउने विदेशी कामदारहरुले जापानी सरह तलव सुविधा पाउने र सो को सहिरुपमा कार्यान्वयन भए नभएको प्रमाणीकरणका लागि कामदारहरुको मासिक तलव उनीहरुको बैंक एकाउन्टमा दाखिला गरिनुपर्ने प्रावधान राखिएको छ ।
विदेशी कामदार भित्र्याउने प्रक्रियामा बीचका कुनै पनि विचौलियाको आर्थिक चलखेल तथा बदमाशी हुन नपाओस् भन्ने उद्देश्यले जापान सरकारले हदैसम्मको सतर्कता अपनाएको बुझिएको छ । रोजगारदाता कम्पनीहरुले कामदारहरुको दैनिक जीवनयापन, सुरक्षित बसोबास र जापानी भाषा अध्ययन गर्ने वातावरण मिलाउने जिम्मा लिनुपर्ने प्रावधान राखिएको छ ।
जापान सरकारले नयाँ भिसा प्रणालीअनुसार विदेशी कामदारहरुको सेवा सुविधा सम्बन्धि प्याकेजमा १ सय २६ बूँदे नीति अगाडि सारेको छ । विदेशी कामदारहरुको रोजगारी, स्वास्थ्य, भाषा लगायतका बिषयमा जानकारी र परामर्श दिन जापानभरि करीब १ सय जति परामर्श केन्द्रको स्थापना गरिने भएको छ भने सरकारले विदेशी कामदारहरुका लागि काम गर्ने ठाउँ, अस्पताल लगायतका सरोकारवाला निकाय र आकस्मिक प्राकृतिक प्रकोपका बेलामा बहुभाषिक सेवा पनि उपलब्ध गराउने भएको छ । पहिलो चरणमा अन्यत्रभन्दा आकर्षक सेवा सुविधा हुने ठूला सहरका कम्पनीहरुमा विदेशी कामदारहरुलाई ब्यवस्थापन गरिने भएको छ ।

कम्तीमा ३ वर्ष प्राविधिक क्षेत्रमा प्रशिक्षार्थीरुपमा काम गरिसकेका विदेशीहरुले बिना परीक्षा नयाँ भिसा परिवर्तन गर्न सक्ने छन् । विदेशी प्रशिक्षार्थी कामदाहरुले भोग्दै आएको तलव नपाउने, मानवीय हिंसाजन्य ब्यवहार जस्ता समस्या भने दोहोरिन नदिईने इमिग्रेशन प्रमुख सासाकीले बताईन् ।

नयाँ संवतअनुसार नयाँ युग सुरु भएसंगै जापानमा जापानी र विदेशीहरुको नयाँ सोसाइटी निर्माण हुने अपेक्षा गरिएको सासाकीले बताईन् । जापानले नयाँ भिसा प्रणाली अनुसार कामदार भित्र्याउन लागेको कम्बोडिया, चिन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, फिलिपिन्स, थाइल्याण्ड, र भियतनाम गरी ९ देशका विदेशीहरुलाई जापानी भाषा परीक्षाको तयारी गरिरहेको छ ।

दोस्रो प्रकारको भिसा स्टाटसका लागि भने भाषा परीक्षा दिन नपर्ने तर काम सम्बन्धि अनुभवको तह भने परीक्षाबाट निर्धारण गरिने बताईएको छ ।