१५ चैत्र २०८०, बिहीबार
Follow Us

बारा–पर्सा आँधी प्रकरणः मृतकको संख्या २८ पुग्यो

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार १८:४२

काठमाडौँ–बारामा आइतबार राति आएको हुण्डरी (भीषण हुरी)मा परेर घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत बाराका पाँच वर्षीय बालक फ्याज आलमको आज निधन भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिलेसम्म बारा र पर्सामा आएको हुण्डरीमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मृत्यु हुनेमा बाराका २७ र पर्साका एक जना रहेको गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका उपसचिव वेदनिधि खनालले जानकारी दिए ।

उनका अनुसार हुण्डरीमा ६६८ घाइते भएकामा ३१७ जना उपचारपछि घर फर्किएका छन् । नौ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्यको स्थानीय अस्पताल तथा मेडिकलमा उपचार भइरहेको केन्द्रले जनाएको छ । दुई जिल्लामा गरेर एक हजार ५६१ घर प्रभावित भएकामा बाराको मात्रै एक हजार ५०२ घर परेका छन् ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार बाराको फेटा गाउँपालिका–१, ६ र ७, कलैया उपमहानगरपालिका–१२ र १३, सुवर्ण गाउँपालिका–१, ४, ५ र ८, पर्साैनी–४, महागढीमाई गाउँपालिका–७ तथा पर्साको वीरगञ्ज महानगरपालिका–१८ र २२ मा क्षति पुगेको छ । अहिले राहतको व्यवस्थापनको काममा स्थानीय तह, प्रशासन कार्यालय र सुरक्षाकर्मी र समुदाय सक्रिय रहेका छन् । काठमाडौँबाट गएको सेना र प्रहरीको चिकित्सक टोलीलगायत विभिन्न क्षेत्रबाट गएका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

क्षतिको विवरण भने सङ्कलनका क्रममा रहेकाले यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । खाद्यान्न लत्ताकपडा, त्रिपाललगायत वितरणको काम जारी रहेको मन्त्रालयले जनाएको छ ।