१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाको प्रवास कमिटीमा भागबण्डा मिल्यो, बेलायतको नेतृत्व पूर्वएमालेलाई (सूचीसहित)

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार ११:४६

काठमाडौँ – नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास कमिटी धमाधम टुंगो लाग्ने क्रममा रहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको प्रवास एकीकरण कार्यदलका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार बेलायतको लागि तत्कालीन एमालेले भाग पाएको छ । यसअघि बेलायतमा माओवादीले पाउने भनिएकोमा सन्तुलन मिलाउने क्रममा अन्तिम समयमा तत्कालीन एमाले निकटलाई दिइएको ती सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

उनका अनुसार तत्कालीन एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलको प्रस्ताव छ ।
३६ देशमा संयोजक र सचिवसहित ३५ सदस्यीय कमिटी राख्न प्रस्ताव गरिएको छ । भागबण्डा टुंगो लागेपनि नेतृत्व र कमिटीमा रहनेको नाम भने टुंगो लाग्न बाँकी रहेको छ ।

स्रोतका अनुसार तत्कालीन एमालेलाई बेलायतसहित १९ देश भागमा परेको छ । जसमा तत्कालीन एमालेले अमेरिका, क्यानडा, फिनल्यान्ड, पोर्चुगल, रसिया, चेक गणतन्त्र, इटली, फ्रान्स, पोल्यान्ड, जर्मनी, नर्वे, न्युजिल्यान्ड, कतार, बहराइन, कुवेत, इजरायल, दक्षिण कोरिया, हङ्कङ र भारतलगायत छन् ।

यस्तै तत्कालीन माओवादीको भागमा स्विजरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन, डेनमार्क, जापान, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ओमन, साइप्रस, मलेसिया, मकाउ सहित १५ देश परेको छ ।

यस्तै अस्ट्रेलिया र स्पेनमा भने भाग बण्डा टुंगिन बाँकी रहेको बताइएको छ।

प्रवास कमिटीको एकीकरणका लागि नेकपाले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलको सदस्यमा पूर्वएमालेबाट डा. विन्दा पाण्डे र युवराज कार्की तथा तत्कालीन माओवादीबाट युवराज चौलागाईं रहेका छन् ।