१२ बैशाख २०८१, बुधबार
Follow Us

अन्जु् पन्तको विवादित तस्बिर, यस्तो रहेछ वास्तविकता

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार १६:१४

काठमाडौं–चर्चित गायिका अञ्जु पन्त राहत वितरणको लागि बाइबल समेत बोकेर बारा पुगेको दाबीसहितको तस्बिर बुधबार भाइरल बन्यो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गर्न थालेपछि हामीले यसको बास्तविकता खोतल्ने प्रयास गरेका छौं। के साँच्चै पन्त बारा नै पुगेकी थिइन् त ?
बुझ्दै जाँदा उनी बुधबार सिंहदरबारस्थित रेडियो नेपालको कार्यक्रममा सहभागि भएको पाइयो । त्यसो भए सामाजिक सञ्जालमा आएको तस्बिर नि ? त्यो तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ । त्यो पनि अहिले दाबी गरिएजस्तो बाइबल नभएर किताव–कापी भएको खुलेको छ ।
गत डिसेम्बर ५ मा वीरगन्ज कारागार भित्र रहेको समता स्कुलका विद्यार्र्थीहरुलाई पन्तले निःशुल्क कापी, झोला लगायत सामाग्रीहरु वितरण गरेकी थिइन् । त्यही फोटोलाई अहिले सामाजिक प्रयोगकर्ताहरुले गलत प्रचार गरेको पाइएको छ । जुन कुराको अञ्जु पन्तले नै गएको डिसेम्बर ५ मा आफ्नो फेसबुक पेजमार्फत तस्बिर सार्वजनिक गरेबाट पुष्टि हुन्छ ।
तर सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहँदा राप्रपा अध्यक्ष कमल थापासमेत हल्लाको पछि लागेर हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गुहार गर्न पुगेका छन् ।
हिन्दुवादी पार्टी राप्रपाका अध्यक्ष उनले अञ्जु पन्तलाई नै लक्षित गर्दै ट्वीटरमार्फत भनेको छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाइबल बाँड्ने कार्य हुनलागेको जानकारी प्राप्त भएको छ। यो कार्य तत्काल रोकियोस् । यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु।’

आफ्नै नामबाट अञ्जु पन्त फाउन्डेसन स्थापन गरेर पछिल्लो समय सामाजिक काममा सक्रिय पन्त केही पहिले हिन्दू धर्म त्यगेर क्रिस्चियन बनेकी थिइन् । त्यसयता उनको विभिन्न समयमा क्रिश्चियन धर्मको प्रचारमा लागेको भन्दै आलोचना समेत हुँदै आएको थियो । यही क्रममा यो पटक भने गलत ढंगले प्रचार भएको पाइएको हो ।