१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जो दोषी, उही न्यायाधीश !

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७५, बिहीबार ०३:२०

काठमाडौँ – जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको कान्तिपुर दैनिकले खबर छापेको छ ।

परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मापेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वाभाविक थुनछेक आदेश गरेकाले विवादित छन् ।

प्रतिवेदनमा उल्लिखित ५ न्यायाधीशमध्ये ४ जनामाथि विस्तृत अनुसन्धान र कार्यक्षमता अभावमा कारबाहीको सिफारिस गरिएको थियो । एक जनामाथि भने सचेत गराउने निर्णय भएको थियो । कारबाहीका लागि सिफारिस गरिएको प्रतिवेदनमा हस्ताक्षर गरेका न्यायपरिषद् सदस्यद्वयले नै तिनै न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।