१४ बैशाख २०८१, शुक्रबार
Follow Us

असल छिमेकीमा हुनु पर्ने १२ गुण के के हुन् ?

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७३, शुक्रबार ०९:३५

छिमेकीलाइ झर्को लगाउने हल्ला गर्नु र छताछुल्ल चुलिएको बीन बक्स (फोहर–डिब्बा) देखिनु बेलायती समाजमा अभद्र छिमेकीको परिचय बन्ने गर्छ । तर यस्ता विषयले मात्र असल छिमेकीको निर्धारण गर्दैन र कानूनको पालना गर्ने तथा असल छिमेकी बन्ने छुप्रै आचरणले सभ्य नागरिकको झल्को दिने गर्छ । आफ्नो बारीभित्र फैलिएको छिमेकीको हाँगाबाट फल टिप्नुदेखि राति ८ बजेपछि हुबर (सफाइ यन्त्र) चलाउँदा पनि कानून मिचिन्छ भन्ने जानकारी सवै नागरिकलाइ नहुन पनि सक्छ । अभद्र ब्यवहार (न्यूसेन्स) सम्बन्धी कतिपय कानूनी प्रावधान कतिपयलाइ अचम्म लाग्ने खालका पनि छन् । नेपालको मुलुकी ऐन, चोरीको महलले फलफूल चोरेको बात लाग्दैन भनेर सिकाएको थियो तर यो देसमा त आफ्नै बारी ओघटेको छिमेकीको हाँगाबाट फल टिप्दा चोरी गरेको बात लाग्ने कानून थाहापाउँदा म चाहीँ छक्कै परेँ ।

बारीमा जडान गरेको पानीको झर्ना तथा फोहराको आवाजले शान्ति दिलाउँछ भन्ने सामान्य मान्यता छ तर त्यही आवाज कुनै छिमेकीलाइ अपृय लागेर उजुर गर्नपनि सक्छन् । सन् २०१४मा “Which” नामको संस्थाले गरेको एक सर्वेक्षणबाट बेलायतबासी हरेक चार मध्ये एक छिमेकीलाइ आफ्नो छिमेकीप्रति अभद्र ब्यवहारसंबन्धी गुनासो रहेको देखिएको छ ।

असल छिमेकी बन्ने र हेक्का राख्न जरूरी हुने आचारण के हुन त ?

१• सफाइगर्ने धारा, बारी सिचाइगर्ने पाइप वा फूलविरूवा छिमेकीको बार (फेन्स)मा जाडान गर्नु भन्दा पहिला छिमेकीसंग त्यसको लागि अनुमति लिनु पर्छ ।

२. फूलबारीमा जडान गरेका पानीका भूल्का, फोहरा तथा झर्नाहरू आफ्ना लागि आनन्ददायी हुँदाहुँदै पनि छिमेकीका लागि ध्वनि प्रदुषणको कारण हुन पनि सक्छ ।

३. छिमेकीका बारीका रूखका हाँगा आफ्नो बारीमा आएको जतिमात्र काट्न–छाट्न पाइन्छ तर त्यस्ता हाँगा–विँगा, पात–पतिङ्गर छिमेकीका बारीमा फाल्न पाइँदैन ।

४. छिमेकीकै बारीतिर रहेका छिमेकीका हाँगा–विँगा काट्नु गैरकानूनी कार्य हुन्छ । आफ्नै बारीका रूख–बिरूवाका हाँगा छिमेकीका बारीमा खस्ने गरी काट्नु पनि हुँदैन, यदी त्यसो गर्नै पर्ने भयो भने पनि पहिला छिमेकीसंग अनुमति लिएर काटेपछि त्यसको सफाइ समेत छिनोफानो आफैले लगाइदिनु पर्छ । त्यसमा पनि संरक्षणका लागि रहेका हाँगाविँगा काट्न पाइँदैन ।

५. आफ्नै बारीमा झुण्डिएको भए पनि छिमेकीको फलफूल टिप्नु हुँदैन । छमेकीको फलफूल टिपे चोरिको बात लाग्छ ।

६. सीसीटिभी क्यामरा जडान गर्दा छिमेकीको सम्पत्ति पूरै वा आंसिक रूपमा देखिने गरी जडान गर्नु हुँदैन । त्यसो गरिएमा गोपनीयता संबन्धी हक (Right to Privacy) हनन गरेको हुन्छ ।

७. आफ्नो बारीमा काठ दाउरा घाँसपात पोल्दा–डढाउँदा, आफ्नै परिसरमा जडित चिम्नीबाट वा बारबीक्यू (BBQ) गर्दा निस्कने धुवा प्रदुषणले छिमेकीलाइ आघात पुग्न गए अभद्र ब्यवहार गरेको हुनजान्छ ।

८. पंछी तथा कुखुरा पालन रहरको विषय र कसैलाइ रमाइलो लाग्ने पनि हुनसक्छ तर भाले बासेको र पोथीको कुड्कुड् ध्वनीले मात्र होइन खोरबाट फैलँदै छिमेकीको परिसरसम्म पुग्ने गन्ध, उपियाँ र किराले छिमेकीलाइ साताउन पनि सक्छ भन्ने कुरामा सचेत हुन जरूरी हुन्छ ।

९. बालबच्चाका लागि बारीमा हालिएको ट्रयाम्पोलिन तथा खेलकुदका साधनबाट निस्कने आवाजबाट छिमेकीलाइ असर नगरोस भनेर होस पुर्याउनु पर्छ । साथै उफ्रँदा छिमेकीको परिसरमा देखिने अवस्थाले छिमेकीको गोपनीयताको अधिकारमा आघात पर्ने हुँदा साधानहरू जडान तथा उपभोग गर्दा ध्यान पुर्याउनु पर्छ ।

१०. सुरक्षाका लागि चम्किलो प्रकाश फैलने बत्ती जडान गर्दा त्यसको प्रकाश आफ्नो परिसरमा सिमित रहने र छिमेकीको परिसरमा नपुग्ने गरी जडान गर्नु पर्छ । त्यस्तो प्रकाशले छिमेकीलाइ प्रकाश प्रदुषण फैलाउने र अभद्र ब्यवहार ठहरिने हुन्छ ।

११. ध्वनि सुनिने गरी घर मरम्मतका टाकन–टुकन काम (DIY) गर्दा सनीबार विहान ८ बजे देखि १ बजे साझसम्म, अरू दिन विहान ८ देखि साँझ ६ बजेसम्म मात्र गर्न हुन्छ र आइतबार पटक्कै गर्नु हुँदैन ।

१२. क्याराभान तथा अग्ला भ्यान जस्ता सवारी साधन रोकी राख्दा कतै छिमेकीको उज्यालो त छेकिएन भनेर हेक्का राख्नु पर्छ र छिमेकीको प्रकाश उपभोग अधिकारको सम्मान गर्नु पर्छ ।
– गोविन्द बेल्वासे, पिटरबरो, बेलायत