७ बैशाख २०८१, शुक्रबार
Follow Us

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य सतौँ चण्डी कालिका

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७३, शनिबार ०९:५९

स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर हालको पुतलीबजार नगरपालिका वडा नं ८ मा पर्दछ । मन्दिरको केहीमाथि सतौँकोटे राजाले बनाएको दरबार छ जसलाई ‘कोट’ भनिन्छ ।

पहिलेका बाइसेचौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलनअनुरुप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामाकरण गरेको हुन सक्ने स्थानीय समाजसेवी गुरुप्रसाद ढकालले जानकारी दिनुभयो ।

यो मन्दिर सतौँका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको विश्वास गरिने जानकारी दिँदै उहाँले मन्दिरमा मगर जातिका पूजारीले पूजा गर्ने प्रचलन रहेको र हाल इन्द्रबहादुर रानाले पूजा गर्दै आएको बताउनुभयो ।

मन्दिर दर्शनका लागि दैनिक २÷३ सय मानिस सताँै चण्डी आउने गरेको र दसैँ जस्ता विशेष चाडपर्वमा भने ५÷६ हजारकै सङ्ख्यामा मानिसहरू पुग्ने गरेको ढकालले बताउनुभयो ।

सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए । पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र चण्डीस्थानको मन्दिरमा पूजा गर्ने विधि र पूजारी पनि एउटै जातको भएकाले यी मन्दिरहरू समान शक्तिपीठ हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।