७ बैशाख २०८१, शुक्रबार
Follow Us

टेलिभिजन बहसहरुमा हिलारी उत्कृष्ट

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७३, शनिबार १०:०५

आगामी नोभेम्बर आठमा अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको निर्वाचनका अग्रपङ्क्तिमा रहेका उम्मेदवार द्वय डेमोक्र्याटिक पार्टीका अठसाठ्ठी वर्षीय हिलारी रोधाम क्लिन्टन र रिपब्लिकन पार्टीका अमेरिकी खर्बपति व्यापारी सत्तरी वर्षीय डोनाल्ड ट्रम्पबीच हालैका केही हप्तायता दुई पटकसम्म प्रत्यक्ष टेलिभिजन बहस सम्पन्न भयो । करिब ९० मिनेट सम्म चलेको पहिलो टेलिभिजन बहसलाई १० करोडभन्दा बढी दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेरेका अनुमान गरिएको थियो । दुई उम्मेदवारबीच चलेको त्यस प्रंत्यक्ष बहस कार्यक्रमलाई अमेरिकी टेलिभिजनको इतिहासमा सबभन्दा बढी दर्शकले एकै पटक हेरेको कार्यक्रम भनी टिप्पणी गरिएको थियो ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका उम्मेदवारको प्रत्यक्ष टेलिभिजन बहसलाई जनताको मत आफूतिर आकर्षित गर्न निकै महत्वपूर्ण र निर्णायक मानिन्छ ।

अमेरिकाको विदेश मन्त्रीको पद सम्हाल्नु हुँदा १ सय १२ वटा देशको भ्रमण गर्नु भएकी हिलारीलाई पहिलो प्रत्यक्ष बहसको क्रममा ट्रम्पले अमेरिकी राष्ट्रपति बन्ने ह्याउ र आँट नभएको आरोप लगाउनु भएको थियो । त्यस प्रत्यक्ष बहस कार्यक्रम आयोजना हुनुभन्दा केही अघि अमेरिकाका बिभिन्न राज्यका विद्यालय, रेस्टुराँ र सार्वजनिक स्थलमा जथाभावी गोली प्रहारका घटनाहरु भएका थिए । सो घटनाबाट निर्दोष बालबालिकासहित धेरैजनाको ज्यान गएको थियो । अझ एक ठाउँमा त एक अश्वेतवर्णको प्रहरीले अर्का अश्वेतवर्णकै नागरिकलाई गोली हानी दिएपछि सो अश्वेतवर्णका ब्यक्तिको मृत्यु भएको ताजा घटनाका कारण गोरा र कालाबीच घृणा र बिद्वेषको बीजारोपण भै समाजिक सद्भावना खल्बलिई उग्ररुप लिई रहेको थियो ।

पहिलो प्रत्यक्ष बहस कार्यक्रममा ती घटनाहरुलाई आफ्नै ढंगले सम्बोधन गर्दै उम्मेदवार ट्रम्पले अफ्रिकी मूलका अमेरिकीहरुको बन्दुक आतङ्कले देशलाई नरक बनाएको आरोप लगाउनु भएको थियो । तर एक अफ्रिकी मूलका अमेरिकी नागरिकले दुई पटकसम्म सफल अमेरिकी राष्ट्रपतिको बन्नुभएको तथ्य चाहीँ सो बादविवादको क्रममा बिर्सिनु भएको प्रतीत भएको थियो । यस्तो सर्वविदित विषयलाई पनि विर्सिने उहाँको स्मरण शक्तिलाई विचार गर्दा कुन आँट, अठोटले अमेरिकी राष्ट्रपति पद हाँक्ने हो, यस कुरामा विश्व नै अन्यौलमा प¥यो ।
आज सम्पूर्ण विश्वलाई चिन्तित बनाई रहेको तीब्र जलवायु परिवर्तनको विषयलाई “चीनले फैलाएको हौवा” भन्ने संज्ञा दिनु भएको थियो ट्रम्पले । विश्वलाई चिन्तित बनाएको तीब्र जलवायु परिवर्तन यस्तो विषयलाई विश्वलाई हाँक्ने शक्तिशाली नेतृत्वको परिचय दिनुपर्ने अमेरिकी राष्ट्रपति पदका उम्मेदवारको यो गैह«जिम्मेवार कथनलाई अर्को सशक्त उम्मेदवार हिलारीले तत्काल विरोध गर्नु भएको थियो ।

हिलारी क्लिन्टन अमेरिकी विदेश मन्त्री हुँदा अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल गद्दाफि विरुद्धको कारबाही, मध्यपूर्वी राष्ट्रहरुमा प्रजातन्त्रका लागि चलेको आन्दोलनमा समर्थन, आतङ्ककारी अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाही, विश्वबाटै आतङ्कबाद निर्मूल पार्न आवश्यक परेका स्थानमा अमेरिकी सहयोगको पूर्ण प्रतिवद्धता लगायतजस्ता कैयौँ अमेरिकी वैदेशिक नीति र गतिबिधिमा राष्ट्रपति ओबामा ढुक्कसँग उहाँको भर पर्नु भएको थियो । उहाँकै बुद्धिमत्तापूर्ण सहयोगका कारण यी सब सफल भएका थिए ।

हामीजस्ता एक साधारण व्यक्तिको विवेकशीलताले पनि यस्ता सबै विषयवस्तुको विश्लेषण गर्न सक्ने कुरा हो । तर अमेरिकी राष्ट्रपति जस्तो गरिमामय पदका लागि लाममा उभिनु भएका ट्रम्पले कुनै पनि बिचारणीय पक्षलाई वास्ता नै नगरी हिलारीलाई इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध कमजोर र इरानप्रति चाहिने भन्दा बढ्तै नरम भएको आरोप लगाउनु भयो ।

हिलारीले इरानप्रति नरम पन्थ प्रदर्शन गर्नु भएको अर्थ कडा नीति र रुखोपनले त्यस क्षेत्रमा थप द्वन्द्व उत्पन्न गराई क्षेत्रिय शान्ति खलबलिन्छ भन्ने ज्ञान ट्रम्पलाई नभए जस्तो देखियो । परापूर्व कालदेखि नै महिलालाई उच्च स्थानमा राखिने गरेको मानवीय मूल्य र मान्यता छ । जुन मान्यता अहिले आएर त अझै उच्च र गरिमामय भएको छ ।

विश्वलाई समानता र सभ्यताको पाठ पठाउने अग्रणी अमेरिकाको बहुचर्चित राष्ट्रपति पदका उम्मेदवारको अग्रस्थानमा रहनु भएका ट्रम्पले मानवीय मूल्य र मान्यतालाई वास्तै नगरी फोहोरी सुङ्गुर र भुस्याहा कुकुर (डर्टि स्वाइन, स्ट्रे डग्) जस्ता शव्द प्रयोग गरी बहसको क्रममा अति तल्लोस्तरको गाली गलोजमा उत्रनु भएकोमा हिलारीले नम्रतापूर्वक सम्झना दिलाउनु परेको थियो ।

बहसको क्रममा ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा अमेरिकामा जन्मिनु भएको होइन भन्ने विषयमा फेरी वादविवाद चर्कियो । तर यस विषयमा, सो कार्यक्रम हुनुभन्दा करिब दुई हप्ता अगाडी नै ट्रम्पले सो भनाई फिर्ता लिई सक्नु भएको थियो । रैथाने अमेरिकी र पिता, पुर्खाका पालादेखि बसाईं सरी आएका अन्य मूलका अमेरिकी अर्थात् जातीय विभेदको मुद्दालाई कोट्याइ कोट्याइ उछाल्न अत्यन्तै रुचाउने ट्रम्पको आदतको यस अघि पनि पटक पटक तीब्र आलोचना हँुदै आएको थियो ।

विश्वलाई वास दिने अमेरिकी नितीमा उदारताका कारण रैथाने अमेरिकी र विश्वका अन्य मूलका अमेरिकीबीच विभेद गर्नु भनेको म्याद गुज्रिएको (डेट एक्स्पायर्ड) औषधि खुवाएजस्तो वा हब्सी समुदायलाई कमारा, कमारी राख्ने (स्लेभरिजम्) सयौं बर्ष पुरानो विचारधाराको अवशेष सँग तुलना हुन जान्छ ।

अमेरिकाको वर्तमान राष्ट्रपति बाराक ओबामाकै पहिलो कार्यकाल अघि हुन लागेको निर्वाचनमा हिलारी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुहुने त्यतिबेलै चर्चा चलेको थियो । तर पार्टीका बुद्धिजीवि विश्लेषकहरुले सायद त्यस पटक अश्वेतवर्णका नेतालाई शासनको बागडोर सम्हाल्न दिनु उचित ठानेरै होला बाराक ओबामालाई अघिसारेपछि क्लिन्टनको कदम फिर्ता भयो । यही कारण नै पहिलो कार्यकालमा राष्ट्रपति ओबामाले उहाँलाई विदेशमन्त्री बनाउनुभएको थियो भन्ने चर्चा छ ।

विश्वका प्रायजसो सबैः नागरिकबीच उत्सुकता रहेको यस पटकको अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीच सम्पन्न प्रत्यक्ष बहसहरुका नतिजाको पूर्वानुमान गर्दा बहूसंख्यक मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएका छन् । प्रत्यक्ष बहसपछिका हुन् या सोभन्दा पूर्वका विभिन्न प्रारम्भिक सर्वेक्षणले देखाए अनुसार विषयवस्तुदेखि प्रस्तुित र विचार प्रकट गर्ने क्षमता (भिजनरी इम्प्याक्ट) सम्मका विभिन्न पक्षबाट निरुपण गर्दा उत्कृष्टता हासील गर्न रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको तुलनामा हिलारी क्लिन्टन निकै अगाडि र अत्यन्त सफल रहेको पाइन्छ । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यस्तो अवरोध धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ ।

भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल, पाकिस्तान, बङ्गलादेश र पछिल्लो समयमा आएर नेपालमा समेत महिलाले राष्ट्रपति पदको जिम्मेवारी पाईसकेका अवस्थामा अमेरिकाले महिला राष्ट्रपति पाओस भन्ने विश्वको चाहना रहेको छ । प्रकारान्तरले विश्वलाई हाँक्दै आएको अमेरिकामा महिला राष्ट्रपति हुनु एक अत्यन्त गरिमामय विषय हो । गन्तव्यतर्फ दृढतापूर्वक उन्मुख हुनु भएकी हिलारीको विजय अव धेरै टाढा नभएको सबैले अडकल गरेका छन् ।
(स्रोतःबिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यम )