१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रेस युनियनका पदाधिकारीले भेटे बेलायतका सांसद

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार १९:२१

लण्डन । नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटघाटवार्ता भएको छ। युनियन बेलायत शाखाको अधिवेशन सम्पन्न गर्न बेलायत पुगेका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसदवीरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो।

नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष रहेका पत्रकार एभरेष्ट गौतमको पहलमा युनियनका पदाधिकारी र सांसदबीच भेटघाट भएको हो। लेबर पार्टीको तर्फबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद शर्माले नेपाली समुदायलाई गर्न सक्ने सहयोगका लागि आफू तत्पर रहेको बताए। सांसद शर्माले नेपालबाट बेलायत पुग्ने उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्दै आएका छन्।

दक्षिण एसिया मामिला हेर्ने संसदीय समितिका संयोजकसमेत रहेका शर्मा भारतीय मूलका बेलायती नागरिक हुन्। उनी ५० वर्ष अघि भारतको पञ्जाबबाट बेलायत पुगेर संघर्ष गर्दै यो स्थानमा पुगेका हुन्। सांसद शर्माले यहाँ बस्ने नेपाली समुदायले बेलायती राजनीतिप्रति चासो राखेर माथि उठ्न सक्ने बताए। नेपालबाट बेलायतमा आइ राजनीतिमा सक्रिय रहेका नेपाली मुलका बेलायती नागरिक बच्चुकैलास कैनी , शिवजी श्रेष्ठको पनि सांसद शर्माले उदाहरण दिँदै अरु नेपाली पनि राजनीतिमा आउन सक्ने बताए।

भेटवार्तामा बेलायतमा रहेका ब्रिटिस सैनिक, नेपाली समुदाय र पत्रकारका समस्याको बारेमा युयिनका महासचिव शिवाकोटीले सांसद शर्माको ध्यानाकर्षण गराउँदै सहयोग गर्न आग्रह गरेका थिए। शिवाकोटीले प्रेस युनियन ट्रेड युनियन अधिकारका लागि क्रियाशिल संस्था भएको जानकारी गराउँदै बेलायतसँग सहकार्य गरेर पत्रकारका क्षमता विकासका कार्यक्रममा साझेदारी गरेर अघि बढ्न सक्ने बताए।
– नागरिक