७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न शिक्षामा लगानी गर्नुपर्छ’

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७५, शनिबार १७:१२

नुवाकोट । नेकपा नेता तथा प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले शिक्षा क्षेत्रको विकास विना समृद्धि असम्भव रहेको धारणा व्यक्त गरेका छन् ।
तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित तारुका श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको लागि जग्गा खरिद तथा भवन निमाणार्थ आयोजित श्रीमद भागवत सप्ताह महायज्ञको शनिबार उद्घाटन गर्दै तामाङले सो कुरा बताएका हुन् ।
‘समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न शिक्षा क्षेत्रको विकास विना सम्भव छैन’ पूर्वमन्त्री समेत रहेका सांसद तामाङले भने, ‘सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष ध्यान दिँदै पर्याप्त लगानी गर्नुपर्छ ।’
उनले क्याम्पसको स्तरोन्नति र विकासका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने आवश्वासन पनि सो अवसरमा दिए ।
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा तारकेश्वर गाउँपालिका वाड नम्बर २ का वडाअध्यक्ष समर बहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का सांसद नारायण प्रसाद खतिवडाले अहिलेको आवश्यकता आधुनिक र प्रविधियुक्त शिक्षा भएको भन्दै त्यसका लागि सरकारले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

विहान कलस यात्रापछि भएको महायज्ञको उदघाटन समारोहमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ती, उपाध्यक्ष तारादेवी रिमाल, जिल्ला समन्वय समिति नुवाकोटको सदस्य सुविना प्रधानलगायतको उपस्थिति रहेको थियो ।

महायज्ञको पहिलो दिन शनिबार ३ लाख २१ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।
महायज्ञमा स्थानिय र अन्य दाताबाट करिव १ करोड संकलन गर्ने लक्ष्य लिइएको प्रचार प्रसार समिति संयोजक राजेन्द्र न्यौैपानेले जानकारी गराए ।