६ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन पशुपतिनाथ मन्दिरमा टिका जमारा थाप्नेको भीड

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७३, शनिबार १०:११

लन्डन । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा मंगलबार टिका जमारा थाप्नेको भीड लाग्यो । बेलायतका विभिन्न ठाउंबाट आएका करिब तीनसय नेपालीले नेपाली पण्डितहरुबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरे ।

बिहान साढे ८ बजेदेखि नै मन्दिर आएर टिका, जमरा लानेहरु असंख्य थिए । पण्डित निलहरि घिमिरेका अनुसार, बिहान साढे दश बजे साइतको विधि गरेपछि दिउसो एक बजेसम्म टिका, जमारा 
लिनेहरुको भीड लागेको थियो ।

परिवार भन्दा पनि एक्लो हुने विद्यार्थी र आफ्नो मान्यजन नहुनेको 
बाहुल्यता रह्यो मन्दिरमा । पण्डितहरु निलहरि घिमिरे र विनोद पन्थीले विधि अनुसार जमरा, टिकासहित आशीर्वाद प्रदान गरेका थिए ।

मन्दिरमा आएका भक्तजनहरुले दिएको दान करिब एकहजार पाउण्ड 
संकलन भएको पण्डित घिमिरेले जनाएका छन् । टिकाको दिन दुई जोडी र नवरात्रीभर ५ वटा विवाह गराइएको जानकारी पनि पण्डित घिमिरेले दिए ।

जमारा, अक्षता वितरणमा सरिता पौडेल र तारा भट्टराईले विशेष सहयोग गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, विनोज्ञ ज्ञवाली, फडिन्द्र भट्टराई आदिले पनि सहयोग गरे ।

लन्डन साउथलस्थित राम मन्दिरमा पनि बिहान १० देखि ११ बजेसम्म टिका, जमरा वितरण गरिएको थियो । विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जिवी ढकालले करिब ४५ जनाले मन्दिर आएर टिका, जमरा ग्रहण गरेको बताए । पण्डितहरु चिरन्जिवी ढकाल र गोविन्द नेपालले टिका, जमारा प्रदान गरेका हुन् ।