१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेत्रज्योती संघमा भ्रष्टाचार नभएको दाबी

sarusaru
२४ चैत्र २०७५, आईतवार ०५:०५

बागलुङ – नेपाल नेत्रज्योती संघ बागलुङले आर्थिक अनियमितता नगरेको प्रष्ट पारेको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर संघका सभापति धु्रवबहादुर केसीले संचार माध्यममा आएझै अनियमितता नभएको दावी समेत गरे । महालेखा परिक्षकको डोर टोलीले बेरुजु देखाएर फिर्ता गर्न भनेको रकम स्वेच्छिक रुपमा फिर्ता गरेकोमा अनियमितता गरेको भन्ने आधार बनाएर समाचार आएको भन्दै त्यस्तो नभएको बताएका हुन् । महालेखाले भने १३ लाख रुपैयाँको काम दोहोरो भुक्तानी भएको भन्दै बेरुजु देखाएपछि गत साता केसीले रकम फिर्ता गरेका थिए । नेत्रज्योती संघको भवनमा आँखा अस्पताल संचालनमा रहेको र आवस्यक पूर्वाधार निर्माणको क्रम चलिरहेको छ ।

नगरपालिकाबाट लगिएको पैसाले काम भएको स्पष्ट भएपनि प्राविधिक त्रुटीले बेरुजु देखिएको उनले दावी समेत गरे । हाल निर्माणाधिन यो भवनका लागि नगरपालिका बाट गत बर्ष ५० लाख १५ हजार रुपैयाँ बिनियोजन भएकोमा ३७ लाख निकासा भइ १३ लाख संचिती कोषमा बसेको र उक्त रकम बेरुजु भएको उनले बताए । पत्रकार सम्मेलनमा चालु बर्षका लागि सरकारबाट आएको १५ लाख चालु खर्चबाट बेरुजु देखिएको रकम फिर्ता गरेको दावी गरे । बिभिन्न दाताबाट संकलिन रकमले भवन निर्माणको काम भैरहेको समेत उनले बताए । चालु खर्चको रकम फिर्ता गरेकोले अन्य श्रोत खोजेर कर्मचारीलाई तलब खुवाउने र अन्य व्यवस्थापकीय काम गरिने उनले बताए ।
जनमञ्च