१५ चैत्र २०८०, बिहीबार
Follow Us

भक्तपुरमा दुर्घटना : एकको मृत्यु, एक घाइते

sarusaru
२५ चैत्र २०७५, सोमबार ०३:४८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका १० भातेढिकुरस्थित अरनिको राजमार्गमा आइतबार सडक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। अर्को एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ४९ प ५४२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा १९ प ५०८९ नम्बरको कारले ठक्कर दिएको थियो।

कारको ठक्करबाट मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका ६ बस्ने ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको परिसरले जनाएको छ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार काठमाडौं महानगरपालिका ३० बस्ने ३९ वर्षीय पञ्च खड्गी घाइते भएका छन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले कार र मोटरसाइकल एकापसमा ठोक्किएर घाइते लामा र खड्गीलाई उद्धार गरी तत्काल उपचारको लागि भक्तपुरको मध्यपुर थिमीस्थित मध्यपुर अस्पताल पुर्‍याइएको जानकारी दिए।

उपचारकै क्रममा सम्बन्धित चिकित्सकले लामालाई मृत घोषणा गरेको उनले बताए। खड्गीको भने मध्यपुर अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न कार र चालक भक्तपुरको सूर्यविनायक नपा २ बालकोट बस्ने ३४ वर्षीय राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पनि परिसरले बताएको छ।
अन्नपूर्ण पोष्ट