१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिचान पक्षधरका लागि पुराना दलहरू थारो गाईलाई गौमाता ठाने जस्तो भो : सांसद श्रेष्ठ

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०८:२०

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री माननीय राजेन्द्र प्रसाद श्रेष्ठले पहिचान र समृद्धि चाहने जनताका लागि नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेस जस्ता पुराना परम्परावादी दलहरू हिन्दूवादीहरूले थारो गाईलाई पनि गौमाता भनेर दानापानी ख्वाए जस्तो भएको बताएको छ । सहअध्यक्ष श्रेष्ठले उक्त कुरा उनको प्रमुख आतिथ्यतामा भएको गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय भेलामा बताएको हो ।
सहअध्यक्ष श्रेष्ठले नेपालमा पुरानो ब्राण्ड भन्दै देशको विकास र समृद्धिका लागि जनताले पुराना दलहरूलाई पटक पटक सत्तामा पुर्याए । तर जनताले न शान्ति न सुशासन न समृद्धि केही पनि पाएन । उनले पुराना दलहरूबाट जनताले आजसम्म अभाव, गरिबी र बेरोजगारी बाहेक के पाए भन्ने प्रश्न गर्दै भने, ‘थारो गाई ब्याउँदैन, नेकपा र काङ्ग्रेसबाट देश चल्दैन ।’
नेता श्रेष्ठले पुराना दलहरूको जग हल्लिसकेको भन्दै अब आउने निर्वाचनमा तिनीहरूको छानो पनि भत्किेने बताउँदै काङ्ग्रेस कम्युनिष्टले अगाडी सारेको समाजवाद र जनवादको विकल्पमा अब सङ्घीय समाजवाद लिएर आजैदेखि जनताको घरदैलोमा जानुपर्ने बताए । उनले गोकर्णेश्वरको प्रत्येक वडामा ससफोको संगठन विस्तार गर्न पनि आग्रह गरे ।
गोकर्णेश्वर नगरपालिकाका युवा नेता श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा भएको उक्त भेलामा ससफो, नेपालका राजनीतिक समिति सदस्य नवराज दाहालले ससफो नेपाल सबै जाति जनजातिको साझा पार्टी भएको बताए भने केन्द्रीय सदस्य आङकाजी शेर्पाले राज्यमा सबैको पहुँचमा जोड दिए । भेलामा पार्टीका केन्द्रीय सदस्यहरूमा ३ नम्बर प्रदेश सहइन्चार्ज कृष्णवहादुर घःजु, अध्यक्ष लालवहादुर तामाङ, उपाध्यक्ष न्हुच्छेलाल महर्जन, मुख्य सचिव तारा सिं विश्वकर्मा, के.स. केशव दाहाल, विष्णु पौडेल, मानवहादुर धामी, मोहन बराइली, वैकल्पीक के.स. तथा जिल्ला अध्यक्ष मनरत्न शाक्य, युवा फोरमका केन्द्रीय सदस्य दीपा खम्बू, स्थानीय बुद्धिजीवीहरू सुरेन्द्र पाठक, विजय लामा आदिको पनि उपस्थिति रहेको थियो ।
देवी प्रसाद पौडेलले सञ्चालन तथा चञ्चला पराजुलीले स्वागत गरेको उक्त भेलाले निम्नानुसार ११ सदस्यीय गोकर्णेश्वर नगर समिति पनि गठन गरेको छ ।
१. अध्यक्ष श्रीकृष्ण नगरकोटी
२. उपाध्यक्ष राजेन्द्र भुसाल
३. उपाघ्यक्ष विष्णु लोप्चन
४. सचिव देवी प्रसाद पौडेल
५. उपसचिव दिया पौडेल
६. कोषाध्यक्ष देवकला वराइली
सदस्यहरू
७. नैनकला प्रधान
८. यदुनाथ वास्ताकोटी
९. कमला पुरी
१०. सूर्य लामा
११. एक बहादुर लामिछाने