१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिडल्याण्डमा पत्रकार र नेपाली समुदाय बीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०८:४३

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले बेलायतको मिडल्याण्ड क्षेत्रस्थित नेपाली समुदायसंग एक बृहद अन्तरक्रिया गरेको छ । आइतबार लेस्टरको हेरिटेज इण्डियामा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाहरु गरी करिब ६० जनाको सहभागिता थियो ।

मिडल्याण्ड क्षेत्रमा क्रियाशिल साझा नेपाली समाज यूके, शान्ति नेपाली समाज बर्मिंगहम , सिर्जनशिल लेस्टर नेपाल यूके, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड, पिटरबरो नेपाली समाज पिटरबरो, नटिंगहम नेपाली समाज लगायतका संघसंस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी बने ।

बेलायतमा नेपाली पत्रकारिताको अवस्था, समुदायको अपेक्षा तथा यस क्षेत्रको स्तर वृद्धिका लागि समुदायको तर्फबाट हुन सक्ने सहयोग तथा सहकार्यका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

कार्यक्रमका वक्ताहरुले बेलायतमा नेपाली समुदायको आकार बढ्दै गएको सन्दर्भमा यहाँस्थित नेपाली मिडियाहरुको भुमिका अझ बढि अपरिहार्य बनेको धारणा राखे ।गैरआवासीय नेपालीहरुको नेपालसंगको नातालाई कायम राख्नेदेखि बेलायतमा नेपाली कला, संस्कृतिलाई बचाइराख्नेसम्मका कार्यमा मिडियाको ठूलो योगदान रहने उनीहरुको विचार थियो ।

पत्रकारितामा दोस्रो पुस्ताका युवाहरुलाई समेट्न र उत्प्रेरित गर्न नेपाली भाषाका साथै अंग्रेजी मिडियाको समेत विकास गर्नुपर्ने , प्रवासमा नेपालीले गरेका प्रगतिसम्बन्धी खोजमुलक कथाहरु प्रकाशन गर्नुपर्ने , सत्य र तथ्यको आधारमा मात्रै समाचार बनाउनुपर्ने लगायतका सुझाव उनीहरुले दिए ।

गुणस्तरीय पत्रकारिताको विकास तथा यहाँस्थित नेपाली पत्रकारहरुको सिप अभिवृद्धिका लागि पहल आवश्यक रहेको औंल्याउँदै समुदायका प्रतिनिधिहरुले पत्रकारिता क्षेत्रका विकृतिहरु हटाउन र महासंघको सदस्यता वितरणमा कडाई गर्न समेत सल्लाह दिए ।

बेलायतमा नेपाली समुदायको विकास र उनीहरुको सामाजिक आन्दोलनमा स्थानीय मिडियाहरुले पुर्याउंदै आएको योगदान प्रशसंनीय रहेको भन्दै उनीहरुले यस क्षेत्रको स्तर उन्नतिका लागि समुदायको तर्फबाट हुन सक्ने जुनसुकै सहयोगका लागि आफुहरु तयार रहेको बताए ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले अन्तरक्रियामा समुदायका अग्रजहरुबाट व्यक्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता गरे । पत्रकारिता क्षेत्रका विसंगतिहरुलाई हटाएर गुणस्तर कायम गर्ने तथा पत्रकारहरुको सीप, क्षमता अभिवृद्धि गर्ने आफुहरुको कोशिस रहेको भन्दै खपांगीले समुदायका तर्फबाट समेत सक्रिय सहयोग र सहकार्यको अपेक्षा गरेको बताए ।

लण्डन केन्द्रित रहंदै आएको बेलायतको नेपाली पत्रकारितालाई अन्य क्षेत्रका नेपालीहरुमाझ पुर्याउने पहलमा मिडल्याण्डमा अन्तरक्रिया गरिएको उनको भनाइ थियो ।

कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले कार्यक्रमको अवधारणपत्र प्रस्तुत गर्दै बेलायतमा क्रियाशिल नेपाली मिडिया तथा पत्रकारहरुको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरे । स्थानीय समुदायले कसरी मिडियाहरुसम्मको पहुँच स्थापित गर्न, कार्यक्रमहरुमा पत्रकारलाई निम्त्याउन र प्रकाशित समाचारहरुप्रतिको गुनासो व्यक्त गर्न सक्छन् भन्ने जानकारी गराउँदै अर्यालले पत्रकारिताको संस्थागत विकासका लागि समुदायका तर्फबाट हुन सक्ने सहयोगका स्वरुपहरुबारे पनि बताए ।

कार्यक्रममा शाखाका सदस्य एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले मिडल्याण्डमा झण्डै १० हजार नेपालीहरुको बसोबास रहेको र उनीहरु एकआपसमा एकताबद्ध तथा सामाजिक हिसाबले सक्रिय रहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले स्वागत मन्तव्य दिए । स्थानीय सिर्जनशिल लेस्टर नेपालका सचिव लक्ष्मणप्रसाद गौतमले मिडल्याण्डवासीहरुको तर्फबाट उपस्थित पत्रकारहरुलाई स्वागत गरे । कार्यक्रमको पहिलो सत्र शाखाका महासचिव सञ्जयभक्त कंडेलले तथा दोस्रो सत्रको अन्तरक्रिया शाखाका पार्षद नृपेश उप्रेतीले सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई शुभकामना दिन हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल पनि कार्यक्रमस्थलमा पुगेका थिए ।

अन्तरक्रियामा अधिवक्ता गोविन्द बेल्वासे, एनआरएन अभियन्ताहरु कमल भण्डारी, दयानिधि सापकोटा, कृष्ण ढकाल, रणबहादुर केसी , पशुपति पोख्रेल, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला थापा, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष शिव खराल, सिर्जनशिल लेस्ट नेपालका अध्यक्ष बलराम चापागाईं, एनआरएन यूके सचिव तारानाथ भण्डारी, गल्कोट नेपाली समाज यूकेका अध्यक्ष राजु कंडेल, पत्रकारहरु डा मिलन ज्ञवाली र केशव भण्डारी, साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष नारायण फुयाँल र कोषाध्यक्ष कृष्ण खरेल, ईञ्जिनियर गोपाल न्यौपाने लगायतले आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

अन्तरक्रियामा पत्रकारहरुको तर्फबाट शाखाका संस्थापक अध्यक्ष नविन पोख्रेल, सल्लाहकारद्धय फडिन्द्र भट्टराई र विपिन निरौला, कार्यसमितिका सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारी, शाखाका सदस्य टिका अधिकारी, जेनी भट्टराई लगायतको सहभागिता थियो ।